बंगलादेशमा बीएनपीलाई दुई-तिहाइ सिट, अध्यक्ष तरिक रहमान प्रधानमन्त्री बन्ने

फाल्गुन १, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
बंगलादेशमा बीएनपीलाई दुई-तिहाइ सिट, अध्यक्ष तरिक रहमान प्रधानमन्त्री बन्ने

काठमाडौं । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले आमनिर्वाचनमा दुई-तिहाइभन्दा बढी सिट जितेको छ । 

कुल २९९ संसदीय सिटमध्ये २९७ को गणना सकिँदासम्म बीएनपीसहितको गठबन्धनले २१२ सिटमा विजय हासिल गरेको हो । बीएनपी एक्लैले भने २०९ सिटमा विजय हासिल गरेको छ । करिब २० वर्षपछि बीएनपीले सत्तामा फर्कने जनादेश पाएको हो । यो नतिजासँगै बीएनपीका प्रमुख तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का भएको छ । 

सन् २०२४ को विद्यार्थी आन्दोलनपछिको यस ऐतिहासिक चुनावमा रहमान ढाका-१७ र बगुरा-६ बाट विजयी हुनुभएको छ । करिब डेढ वर्षको संक्रमणकालपछि यो नतिजाले बंगलादेशमा स्थिरता ल्याउने अपेक्षा गरिएको छ । ६० वर्षीय रहमान पूर्वराष्ट्रपति जिउर रहमान तथा बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री खलिदा जियाका छोरा हुनुहुन्छ । 

विगत १८ वर्षदेखि लन्डनमा निर्वासित जीवन बिताउँदै आउनुभएका रहमान यसै चुनावका लागि ढाका फर्कनुभएको थियो । बीएनपीले महिला तथा बेरोजगारलाई मासिक भत्ता दिने, डिजिटल इनोभेसनलाई प्राथमिकता दिँदै करिब ९ लाख रोजगारी सिर्जना गर्ने, जुलाई राष्ट्रिय वडापत्र कार्यान्वयन गर्नेलगायत मतदाता रिझाउने योजना अघि सारेको थियो ।

यस्तै निर्वाचनमा अर्को प्रतिस्पर्धी दल जमात-ए-इस्लामीसहितको गठबन्धनले ७७ सिटमा विजयी हासिल गरेको छ । ऊ एक्लैले ६८ सिट जितेको छ । यस्तै इस्लामी आन्दोलन बंगलादेशले एक तथा अन्य उम्मेदवारले ७ स्थानमा विजय हासिल गरेका छन् । विद्यार्थी आन्दोलनबाट उदाएको दल नेसनल सिटिजन पार्टी (एनसीपी)ले भने केवल ६ सिट जितेको छ । एनसीपीले जमातसँगको गठबन्धनमा चुनाव लडेको थियो ।

बंगलादेशको निर्वाचन आयोगले भने औपचारिकरूपमा नतिजा सार्वजनिक गरेको छैन । छिट्टै राजपत्रमा सार्वजनिक गरिने आयोगलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बीएनपीका महासचिव मिर्जा फखरुल इस्लामले भने पार्टीले आइतबार सरकार गठन गर्ने बताउनुभएको छ ।

सन् २०२४ को विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको थियो । यसपटक भएको निर्वाचनमा हसिनाको दल अवामी लिगलाई भाग लिन बन्देज गरिएको थियो ।