
काठमाडौं । इरानले अमेरिकासँग वार्ता नगर्ने जनाएको छ ।
तेहरानले वाशिङटनसँगको वार्ता पुन: सुरू गर्ने योजना बनाइरहेको भन्ने चर्चाप्रति प्रतिक्रिया जनाउँदै इरानी सुरक्षा प्रमुख अलि लारिजानीले यस्तो प्रतिक्रिया जनाउनुभएको हो । इरानले पश्चिम अफ्रिकी मुलुकहरूमा आक्रमण जारी राखेको छ । बहराइन र दुबइमा विस्फोटका आवाज सुनिएका र कुवेतस्थित अमेरिकी दूतावासनजिक धुँवाको मुस्लो देखिएको बीबीसीले जनाएको छ ।
जोर्डानको तटीय सहरमा साइरनका आवाज सुनिएका छन् । साइप्रसस्थित बेलायती सैन्य क्याम्पमा पनि ड्रोन आक्रमण गरिएको छ । यो घटनापछि बेलायतले पश्चिम एसियामा रहेका आफ्ना नागरिकलाई उद्दार गर्ने तयारी गरेको छ । यस क्षेत्रमा ३ लाख बेलायती रहेको अनुमान गरिएको छ ।
यसैगरी अमेरिकी सेनाको शिविर रहेको इराकको इर्बिल विमानस्थलको आकाशमा ३ वटा ड्रोन नष्ट गरिएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरानले इजरायललक्षित आक्रमण पनि गरेको छ । इजरायलको बेत सेमेश सहरमा भएको आक्रमणमा ९ जनाको मृत्यु भएको छ ।
यता लेबनानको इरानसमर्थित हेजबोल्लाहले मिसाइल आक्रमण गरेपछि इजरायलले पनि जवाफी आक्रमण गरेको छ । आक्रमणमा दक्षिणी लेबनानमा ३१ जनाको मृत्यु हुनाको साथै १ सय ४९ जनाको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलले दक्षिणी लेबनानका ५० वटा गाउँ खाली गर्न निर्देशन दिएको छ ।
यसैबीच इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहितका केही अधिकारी र दर्जनौँ उच्च सैन्य अधिकारीको मृत्यु भएपछि सङ्क्रमणकालीन योजनाको घोषणा गरेको छ । सरकारले राष्ट्रपति, न्यायपालिकाका प्रमुख र ‘गार्जियन काउन्सिल’ का एक न्यायविद्सहित अन्तरिम नेतृत्व परिषद्को पनि गठन गरेको छ ।