अमेरिकालाई क्यानडासँग जोड्ने नयाँ पुलकाे उद्घाटन रोक्ने ट्रम्पको धम्की

माघ २७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकालाई क्यानडासँग जोड्ने नयाँ पुलकाे उद्घाटन रोक्ने ट्रम्पको धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अमेरिकालाई क्यानडासँग जोड्ने नयाँ पुलको उद्‍घाटन रोक्ने धम्की दिनुभएको छ ।

अमेरिकाको डेट्रोइट र क्यानडाको विन्डसर जोड्ने निर्माणाधीन १ दशमलव ५ माइल लामो गोर्डी होवे अन्तर्राष्ट्रिय पुलको उद्‍घाटनको अनुमति नदिने दाबी उहाँले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत गर्नुभएको हो । सो पुल निर्माणको मुख्य काम सकिइसकेको छ र केही समय परीक्षण गरेपछि यसै वर्ष उद्‍घाटन गर्ने लक्ष्य क्यानडाले राखेको छ । 

चार अर्ब डलरभन्दा बढी खर्च गरिने यस पुलको नाम प्रसिद्ध क्यानेडियन आइस हक्की खेलाडी गोर्डी होवेको नाममा राखिएको हो । पुलको पूर्ण भुक्तानी, निर्माण, सञ्चालन र मर्मतसम्भार क्यानडाले गरिरहेको छ । तर, २०१२ को सम्झौतामा यस पुलको संयुक्त स्वामित्व क्यानडा सरकार र अमेरिकाको मिशिगन राज्यको रहने उल्लेख छ । 

पुल निर्माणमा प्रयोग हुने कुनै पनि फलाम र स्टील अमेरिका वा क्यानडामा उत्पादन गरिनुपर्ने पनि सम्झौतामा उल्लेख छ । क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा सबै क्यानेडियाली सामानहरूमा शतप्रतिशत भन्सार लगाउने उहाँले चेतावनी दिनुभएको छ ।