हङकङका प्रजातन्त्रवादी मिडिया उद्यमी जिम्मी लाईलाई २० वर्षको जेल सजाय

माघ २६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
हङकङका प्रजातन्त्रवादी मिडिया उद्यमी जिम्मी लाईलाई २० वर्षको जेल सजाय

काठमाडौं । हङकङका प्रजातन्त्रवादी मिडिया उद्यमी जिम्मी लाईलाई २० वर्षको जेल सजाय सुनाइएको छ । 

हङकङको विवादास्पद राष्ट्रिय सुरक्षासम्बन्धी कानुनमा विदेशी शक्तिसँग मिलिभगत गरेको आरोपमा उहाँलाई सजाय सुनाइएको हो । जिम्मीलाई गत डिसेम्बरमा देशद्रोह र विदेशी शक्तिसँग मिलिभगत गरी षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । न्यायाधीशहरूले उहाँलाई षड्यन्त्रहरू पछाडिका ‘मास्टरमाइन्ड’ भनी आलोचना गरेका थिए ।

स्वास्थ्यका कारण भने ७८ वर्षीय जिम्मीको सजायमा सामान्य कटौती गरिएको छ । छोरी क्लेअर लाईले भने यो निर्णयलाई हृदयविदारक र क्रूर भन्नुभएको छ । हङकङका अधिकारी तथा चीनको विदेश मन्त्रालयले भने यो सजायले सहरमा विधिको शासन कायमै रहेको सन्देश दिएको जनाएका छन् । 

बेइजिङले सन् २०२० मा हङकङमा राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा ल्याएयता सजाय सुनाइने यी अर्बपति उद्यमी सबैभन्दा उच्च व्यक्तित्व हुन् । हङकङको यस्तो निर्णयपछि न्याय तथा कानुनी व्यवस्थाकै अन्त्य भएको भन्दै जिम्मीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा आवाज उठेको छ ।