पूर्वी कंगोको कोल्टान खानी क्षेत्रमा पहिरो जाँदा दुई सयभन्दा बढीको मृत्यु

दर्जंनौं घाइतेर उत्खनन रोक्न प्रान्तीय सरकारको निर्देशन
माघ १७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
पूर्वी कंगोको कोल्टान खानी क्षेत्रमा पहिरो जाँदा दुई सयभन्दा बढीको मृत्यु

काठमाडौं । पूर्वी कंगोको कोल्टान खानी क्षेत्रमा पहिरो जाँदा दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ । 

'एम ट्वान्टी थ्री' नामक विद्रोही समूहको नियन्त्रणमा रहेको रूबाया खानी क्षेत्रमा बुधबार पहिरो गएको हो । उत्तर किवु प्रान्तका गभर्नरका प्रवक्ताले भारी वर्षाका कारण पहिरो जाँदा अहिलेसम्म दुई सयभन्दा बढीको मृत्यु भइसकेको र केही अझै हिलोमै पुरिएको जनाएका छन् । 

पहिरोमा दर्जंनौं मानिस घाइते भएका र उनीहरूलाई रूबाया सहरका तीन स्वास्थ्य केन्द्रमा लगिएको जनाइएको छ । प्रान्तीय सरकारले खानी क्षेत्रमा गरिने उत्खनन अस्थायी रूपमा रोक्न आदेश दिएको छ भने खानी नजिक आश्रय बनाएर बसेका बासिन्दालाई अन्यत्र सर्न निर्देशन दिइएको छ । खानी क्षेत्रमा सुरक्षा उपायविना जताततै खनिने भएकाले असुरक्षित हुने गरेको बताइएको छ ।

कंगो स्मार्टफोन, कम्प्युटर र विमान इन्जिन निर्माणमा आवश्यक पर्ने धातु कोल्टानको प्रमुख आपूर्तिकर्ता हो। विद्रोही समू एम ट्वान्टी थ्रीले सन् २०२४ को मेमा रुबाया शहर कब्जा गरी त्यहाँको खानी आफ्नो नियन्त्रणमा लिएको थियो । विद्रोहीहरूले कोल्टानको व्यापार र ढुवानीमा कर लगाएर मासिक कम्तिमा ८ लाख अमेरिकी डलर आम्दानी गरिरहेका छन्।