
काठमाडौं । भारतले नेपाललाई ८ अर्ब अनुदान दिने घोषणा गरेको छ ।
अर्थमन्त्री निर्मला सीतारमणले आइतबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०२६/२७ को बजेटमा नेपाललाई दिने सहयोगमा गत वर्ष बराबर ८ अर्ब दिने घोषणा गरिएको हो । सन् २०२५-२६ को बजेटमा पनि नेपाललाई ८ अर्ब अनुदान दिने घोषणा गरिएकोमा पछि संशोधन गरेर ८ अर्ब ३० करोड पुर्याइएको थियो ।
यस वर्ष पनि ८ अर्ब नै छुट्याइएको हो । सार्क मुलुकमा सबैभन्दा बढी भुटानलाई छुट्याइएको छ । भुटानलाई २२ अर्ब ८८ करोड अनुदान घोषणा गरिएको छ भने अफगानिस्तानलाई १ अर्ब ५० करोड, बंगलादेशलाई ६० करोड, श्रीलंकालाई ४ अर्ब, माल्दिभ्सलाई ५ अर्ब ५० करोड, म्यानमारलाई ३ अर्ब, मंगोलियालाई २५ करोड र अफ्रिकन न मुलुकलाई २ अर्ब २५ करोड सहयोग गरिने बजेटमा उल्लेख छ ।
रक्षा बजेटमा वृद्धि गर्दै ७ खर्ब ८० अर्ब पुर्याइएको छ । गत वर्ष रक्षा बजेट ६ खर्ब ८१ अर्ब थियो । यस्तै, बजेटमार्फत ७ हाइस्पीड रेल करिडोर घोषणा गरिएको छ भने क्यान्सरलगायतका दुर्लभ रोगका औषधिको आयात शुल्कमा छुट दिइएको छ । भारतभर १५ हजार सेकेन्डरी स्कुल र ५ सय कलेजमा कन्टेन्ट क्रिएटर ल्याब बनाउने घोषणा गरिएको छ।