
काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इरानका नेताहरूसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संवाद भइरहेको दाबी गर्दै भविष्यमा पनि वार्ता जारी रहने बताउनुभएको छ ।
अमेरिका–इरान सम्बन्ध पुनः तनावपूर्ण मोडतर्फ मोडिएको भन्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले विश्लेषण गरिरहेका बेला ट्रम्पले वार्ताको खुलासा गर्नुभएको हो । ट्रम्पले संवाद कुन स्तरमा र कससँग भएको हो भन्ने स्पष्ट विवरण नदिए पनि अमेरिकाले इरानलाई आफ्नो परमाणु कार्यक्रम तत्काल रोक्न र देशभित्र भइरहेका विरोध प्रदर्शनका क्रममा हिंसा नियन्त्रण गर्न कडा सन्देश दिएको पनि बताउनुभएको छ ।
उहाँले अमेरिका र इरान दुवै समयको दबाबमा रहेको उल्लेख गर्नुभयो । वार्ता सफल नहुँदा क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्न सक्ने चेतावनी पनि ट्रम्पले दिनुभएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसै सन्दर्भमा अमेरिकाले इरानमाथि दबाब बढाउने रणनीतिअन्तर्गत ‘अब्राहम लिङ्कन’ विमानवाहक पोत समूह तैनाथ गरेको जानकारी दिँदै ट्रम्पले सैन्य उपस्थिति कूटनीतिक चेतावनीको रूपमा रहेको सङ्केत पनि गर्नुभयो ।
अमेरिका–इरान सम्बन्ध देखिएको तनावपूर्ण मोडले मध्यपूर्वको राजनीतिक तथा सुरक्षा सन्तुलनमा गहिरो प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ ।