दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नी विरुद्ध भ्रष्टाचारको आरोपमा २० महिना जेल सजाय

माघ १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नी विरुद्ध भ्रष्टाचारको आरोपमा २० महिना जेल सजाय

काठमाडौै । दक्षिण कोरियाका महाभियोग लागेका पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम कन–हीलाई घुस लिएको अभियोगमा २० महिनाको जेल सजाय सुनाइएको छ । बुधवार प्रत्यक्ष प्रशारण गरिएको अदालती कारबाहीका क्रममा उनलाई सो सजाय सुनाइएको हो । सोल केन्द्रिय जिल्ला अदालतले किमले प्रथम महिलाको रूपमा आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको ठहर गर्दै १२.८१ मिलियन वन (करिव ९,०१० अमेरिकी डलर) जफत गर्ने आदेशसहित कारागार चलान गर्ने फैसला गरेको छ । 

यद्यपि अदालतले उनलाई पुँजी बजार ऐन र राजनीतिक कोष ऐन उल्लंघन गरेको आरोपमा भने निर्दोष ठहर गरेको छ । सन् २०२२ मा युनिफिकेसन चर्चका अधिकारीहरूलाई विशेष सुविधा मिलाइदिने प्रलोभन देखाई उनीहरूबाट बहुमूल्य वस्तुहरू लिएको आरोप किममाथि पुष्टि भएको हो । शेयर बजारमा चलखेल (स्टक रिगिङ) मा किमको संलग्नता रहेको विशेष काउन्सिलको दाबीलाई भने अदालतले अस्वीकार गरेको छ । 

किमलाई सेयर मूल्यमा भएको हेरफेरबारे जानकारी भएपनि उनको प्रत्यक्ष संलग्नता पुष्टि गर्न कठिन रहेको अदालतको टिप्पणी छ । सन् २०१० अक्टोबरदेखि २०१२ डिसेम्बरसम्म भएको सेयर मूल्य हेरफेरमा संलग्न रहेको आरोपमा किमलाई गत वर्षको अगस्टमा हिरासतमा रहेकै बेला अभियोग लगाइएको थियो ।

उनीमाथि राष्ट्रपति निर्वाचनअघि सन् २०२१ अप्रिलदेखि २०२२ मार्चसम्म एक राजनीतिक दलालमार्फत ५८ पटक गरी करिब २७० मिलियन वन बराबरको अवैध जनमत सर्वेक्षणको नतिजा निःशुल्क प्राप्त गर्न आफ्ना पति युनसँग मिलेमतो गरेको आरोप पनि थियो । यद्यपि, अदालतले राष्ट्रपति दम्पतीले नै जनमत सर्वेक्षणको आदेश दिएको प्रमाणित गर्ने पर्याप्त प्रमाण नभएको फैसला सुनाएको छ ।

यस फैसलाका अतिरिक्त, किममाथि पार्टीको राष्ट्रिय महाधिवेशनमा एक विशिष्ट उम्मेदवारलाई जिताउन युनिफिकेसन चर्चका सदस्यहरूलाई ’पिपल पावर पार्टी’ मा सामूहिक रूपमा आवद्ध गराउन दबाब दिएको अर्को अभियोग पनि छ। साथै, उनले व्यावसायिक लाभ दिलाउने र सार्वजनिक पदहरू बिक्री गर्ने बदलामा घुस लिएको आरोपको पनि सामना गरिरहेकी छिन् ।

गत अगस्टदेखि हिरासतमा रहेकी किम, दक्षिण कोरियाको इतिहासमा हिरासतमा रहेर मुद्दा चलाइने पहिलो पूर्व राष्ट्रपति पत्नी बनेकी छिन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.