राष्ट्रिय लिग : त्रिभुवन आर्मीद्वारा श्री भगवति क्लब पराजित

माघ १८, २०८२ |खेल ब्युरो
राष्ट्रिय लिग : त्रिभुवन आर्मीद्वारा श्री भगवति क्लब पराजित

काठमाडौं । राष्ट्रिय लिगको आइतबारको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले श्री भगवति क्लबलाई ३-१ गोलले हराएको छ। 

दशरथ रंगशालामा भएको खेलमा उसले सहज जित हात पारेको हो। खेलको पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो। खेलको १२ मिनेटमा नै अजित लामाले गोल गरेर श्री भगवतिलाई अग्रता दिलाएका थिए। २८औं मिनेटमा सुबास बमको प्रहार पोस्टको छेउबाट बाहिरिएपछि भगवतिले अग्रता दोब्ब बनाउने अवसर गुमाएको थियो। 

यता ३४औं मिनेटमा जिलेस्पी जंग कार्कीले खेलबारबरीमा ल्याएका हुन्। दोस्रो हाफमा भने तिब्र अट्याक गरेको आर्मीले दुई गोल गर्दा दुवै गोल फरवार्ड नवयुग श्रेष्ठले गरेका थिए। उनले खेलको ५८औं मिनेटमा सुन्दर गोल गरेर प्रतिस्पर्धालाई कायम राखेका थिए। 

खेलको ६५औं मिनेटमा भगवतिका फरवार्डले पोस्टअगाडीि सहि समयमा प्रहार गर्न चुक्दा आर्मीले क्लियर गर्दै बराबरीको संकट टारेको थियो। ७७औं मीनेटमा आर्मीका नवयुगको प्रहार गोलकिपर कृषल मोक्तानले रोक्दै आर्मीलाई अग्रता बढाउन दिएनन्। 

७८ मिनेटमा गोलकिपर बिट भइसकेको अवस्थामा नवयुगले नै पोस्टअघि गोल भेट्न नसक्दा आर्मीले सुनौलो अवसुर गुमाएको थियो। तर इन्ज्युरी समयमा उनले गल्ती गरेनन्। रिबाउन्ड बलमा गोल गरेर खेल नवयुगले खेललाई ३-१ मा समाप्त गरेका हुन्। यो जितसँगै आर्मीले पाँच खेलबाट अपराजित रहँदै ११ अंक बनाएको छ। श्री भगवतिले तेस्रो हार ब्यहोरेको छ।