इरान अमेरिकी सैन्य कारबाहीको सामना गर्नुभन्दा सम्झौता चाहन्छ -ट्रम्प

माघ १७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इरान अमेरिकी सैन्य कारबाहीको सामना गर्नुभन्दा सम्झौता चाहन्छ -ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी सैन्य कारबाहीको सामना गर्नुको सट्टा सम्झौता गर्न चाहेको दाबी गर्नुभएको छ। यद्यपि तेहरानले भने आफ्नो क्षेप्यास्त्र र रक्षा प्रणाली कुनै पनि हालतमा वार्ताको विषय नबन्ने स्पष्ट पारेको छ।

शुक्रबार ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति बढाइँबारे सोधिएको प्रश्नमा इरानले सम्झौता गर्न चाहेको दाबी गरेपनि थप विवरण भने दिनुभएन ।

यसअघि बुधबार ट्रम्पले इरानको परमाणु कार्यक्रमबारे सम्झौता गर्न ‘समय सकिँदै गएको’ चेतावनी दिनुभएको थियो । इरान नजिकै ठूलो अमेरिकी नौसैनिक बेडा तैनाथ भएपछि ट्रम्पको यस्तो चेतावनी आएको हो।

उता, इरानका विदेशमन्त्रीले हाल अमेरिकासँग कुनै वार्ता तय नभएको बताए पनि ‘आपसी सम्मान र विश्वास’का आधारमा वार्ताका लागि तेहरान खुला रहेको संकेत दिनुभएको छ ।

यसैबीच शुक्रबार नै रूसले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेको जनाएको छ। रूसी सरकारी समाचार एजेन्सी रिया–नोवोस्तीका अनुसार उनीहरूबीच ‘मध्यपूर्व तथा अन्तर्राष्ट्रिय मुद्दा’लगायत विषयमा छलफल भएको थियो।

इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णतः शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ। साथै, उसले अमेरिकासहित उसका सहयोगी राष्ट्रहरूले इरानले परमाणु हतियार विकास गर्न खोजिरहेको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ।

ट्रम्पले इरानलाई सैन्य कारबाहीबाट जोगिन दुई काम गर्नुपर्ने स्पष्ट सन्देश दिएको बताउनुभयो। यसका लागि पहिलो—परमाणु हतियार बन्द र दोस्रो—प्रदर्शनकारीहरूको हत्या गर्न इरानले बन्द गर्नुपर्ने उहाँको भनाइ छ ।

अमेरिकास्थित मानवअधिकार संस्था ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीका अनुसार गत डिसेम्बरको अन्त्यदेखि सुरु भएको आन्दोलनयता इरानमा ६ हजार ३ सयभन्दा बढी व्यक्तिको मृत्यु पुष्टि भइसकेको दाबी गरेको छ।

यसैबीच, नर्वेमा आधारित संस्था इरान ह्युमन राइट्सले मृतक सङ्ख्या २५ हजार नाघ्नसक्ने चेतावनी दिएको छ।