हिमाली क्षेत्रमा निर्वाचनका लागि मौसम चुनौतीको विषय बन्दै, मतदाता भन्छन्‌-गाउँ पुग्नै कठिन

अस्थायी मतदानस्थलदेखि सुरक्षा प्रबन्धसम्मका लागि निर्वाचन आयोग तयारी अवस्थामा
माघ १७, २०८२ |अञ्जना लामिछाने
हिमाली क्षेत्रमा निर्वाचनका लागि मौसम चुनौतीको विषय बन्दै, मतदाता भन्छन्‌-गाउँ पुग्नै कठिन

काठमाडौं । हिउँदको समय छ। जाडो छल्न हिमाली र उच्च पहाडी भेगमा मानिसहरू बेसी झरेका छन्। 

हिउँ परिरहने भेगमा घर र सम्पत्ति रुंग्नेबाहेक मानिस छैनन्। प्रतिनिधि सभा निर्वाचनका लागि तय भएको फागुन २१ सम्मै हिउँ परिरहने निर्वाचन क्षेत्र पनि छन्। अहिले निर्वाचनको तयारीका लागि निर्वाचन कार्यालयदेखि मतदान केन्द्रहरूको व्यवस्थापनको काम चलिरहेको छ। तर हिउँदका कारण मतदाता नै न्यून संख्यामा भएका ती हिमाली र उच्च पहाडी भेगमा कसरी हुन्छ चुनाव ?

चिसोका कारण उच्च हिमाली जिल्लाका मानिसहरू जाडो छल्न तल्लो भेग अर्थात् सदरमुकाम र काठमाडौंलगायत सहरतिर झर्ने गरेका छन्। उनीहरू चैत अन्तिमतिर चिसो कम भएपछि मात्रै फर्किन्छन्। यसैकारण फागुन २१ गते हुने निर्वाचनमा भने ठूलो संख्यामा मतदाता मताधिकारबाट वञ्चित हुने स्थिति छ। 

निर्वाचनका लागि व्यवस्थापकीय पाटो पनि यसैकारण प्रभावित हुने जोखिम पनि उत्तिकै छ। त्यसैले निर्वाचन आयोगले उच्च पहाडी र हिमाली क्षेत्रका मतदातालाई उनीहरू जुन ठाउँमा छन्, त्यहीँ अस्थायी मतदान केन्द्र स्थापना गरेर मतदान गराउने तयारी गरेको छ। तर मौसमको अवस्था हेरेर निर्णय लिइने आयोगले जनाएको छ ।

खासगरी सुदुरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा मौसमका कारण निर्वाचन प्रभावित हुने देखिएको थियो। हुम्ला, जुम्ला, डोल्पा, दार्चुला, मनाङ, मुस्ताङ र कालिकोटमा निर्वाचनको सम्भावना नरहेको भन्दै स्थानीय जनप्रतिनिधिहरूले समेत आयोगमा पत्राचार गरेका थिए।

अहिले पनि हिमाली जिल्लाहरूमा हिमपात भइरहेको छ। फागुन अन्तिमसम्मै हिउँ पर्ने गरेकोले निरन्तर हिमपात भयो भने मतदाता फर्किन सक्ने अवस्था हुँदैन। कतिपय उच्च पहाडी भेगका निर्वाचन क्षेत्रका उम्मदवारहरूको चुनावी प्रचारसमेत अहिले सदरमुकाम र सहर केन्द्रित छन्।

यस्तो अवस्थामा फागुन २१ को चुनावका लागि मतदान गर्न मतदाता आफ्नै गाउँमा पुग्लान् त ?

आयोगले मौसम प्रतिकूलताका कारण मतदान हुन नसक्ने जिल्लामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, राजनीतिक दल र उम्मेदवारसँग छलफल गर्न भनेको छ । पाँच सयभन्दा बढी मतदाता रहेका स्थानमा मात्रै अस्थायी मतदान केन्द्रको व्यवस्थापन गर्नेबारेमा निर्वाचन आयोगले छलफल गरिरहेको छ।

दार्चुलामा त २ अस्थायी मतदान केन्द्र नै कायम गरी छाङरू र तिङ्कर गाउँका मतदातालाई खलङगामै मतदानको व्यवस्था मिलाउने निर्णय मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरिसकेको छ । आयोगले ती क्षेत्रमा फागुन २१ मै निर्वाचन गराउन मतदानस्थल सार्ने मात्रै होइन, ती क्षेत्रका मतदाता बसेको स्थान पहिचान गरी आवश्यक तयारी तत्काल सुरू गर्नुपर्ने देखिन्छ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।