भारत र युरोपेली संघबीच स्वतन्त्र व्यापार सम्झौता, अमेरिका र चीनमाथिको निर्भरता कम गर्ने अपेक्षा

खाद्य उत्पादन, औषधिलगायतको कर पूर्ण अन्त्य, केहीमा भारी कटौती
माघ १३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारत र युरोपेली संघबीच स्वतन्त्र व्यापार सम्झौता, अमेरिका र चीनमाथिको निर्भरता कम गर्ने अपेक्षा

काठमाडौं । भारत र युरोपियन युनियनबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता भएको छ । 

युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो लुइस सान्तोस र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डेर लेयनको उपस्थितिमा सम्झौता भएको हो । यो सम्झौतालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'मदर अफ अल डिल्स' भन्नुभएको छ । यसले अमेरिका र चीनमाथिको निर्भरता कम गर्ने अपेक्षा गरिएको भारतीय अधिकारीले जनाएका छन् । यो सम्झौताले विश्वको कुल गार्हस्थ उत्पादनको करिब २५ प्रतिशत र विश्व व्यापारको करिब एक तिहाई हिस्सा ओगट्ने बताइएको छ ।

सम्झौतापछि कार, रासायनिक पदार्थ, मदिरा, खाद्य उत्पादन, मेसिनरी, फर्मास्युटिकल्सलगायतका वस्तुमा लाग्दै आएको करमध्ये केहीमा भारी कटौती गरिएको भने केहीमा पूर्ण रुपमा हटाइएको छ । यसले भारतीय बजारमा हुने निर्यात सन् २०३२ सम्ममा दोब्बर हुने र दुवै मुलुकबीचको  आर्थिक सम्बन्ध अझ मजबूत हुने इयुले जनाएको छ । 

यस्तै, लाखौं मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी मिल्ने अपेक्षा गरिएको छ । यसले इयुका निर्यातकर्ताको बर्सेनि ४ अर्ब युरोसम्म बचत हुनेछ । सम्झौताअनुसार कार तथा व्यावसायिक सवारीको कर १ सय १० प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइनेछ । तर, यसका लागि वार्षिक २ लाख ५० हजारको कोटा राखिएको छ । 

वनस्पति तेल, रासायनिक उत्पादन, फलफूल तथा प्रशोधित खाद्य उत्पादनमा लाग्दै आएको कर हटाइएको छ । औषधि तथा स्वास्थ्य उत्पादनमा लाग्दै आएको ११ प्रतिशतको कर पनि हटाइएको छ । यो सम्झौतालाई इयुको संसद्ले पनि अनुमोदन गर्नुपर्नेछ, जसका लागि कम्तिमा पनि एक वर्ष लाग्नेछ । 

जर्मनीका अर्थमन्त्री लार्स क्लिङबेलले यो सम्झौताले आर्थिक वृद्धिलाई तीव्रता दिने र रणनीतिक सम्बन्धलाई अझ गहिरो बनाउने बताउनुभएको छ।