काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह चुनावी अभियानका क्रममा देश दौडाहमा हुनुहुन्छ ।
काठमाडौं महानगरपालिकाका पूर्व प्रमुखसमेत रहेका बालेन पदबाट राजीनामा दिएर दलिय राजनीतिमा होमिनु भएको थियो । उहाँले पहिलो राजनीतिक यात्रा नै मधेशबाट गर्नुभयो । जनकपुरमा आयोजित परिर्वतन उद्धोष सभालाई सम्बोधन गरेपछि देश दौडाहमा निस्किनुभएका बालेन सुरूमा पूर्वी नेपाल र अहिले पश्चिम नेपालको भ्रमण सक्नुभयो ।
बालेन्द्रले मुख्य त आफ्नो दल रास्वपाका उम्मेदवारसँग भेट गर्नुका साथै समर्थकसँग समय बताउनु भयो । तर देश दौडाहामा रहँदा बालेन्द्रले समर्थकलाई हात हल्लाएर र घण्टी मात्र बजाएर मौन रूपमै फर्कनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेनले पूर्वी नेपालमा ६ दिन बिताउनु भयो ।
यही माघ ५ गते जनकपुरदेखि झापा निस्किनुभएका उहाँले ६ गते झापा-५ मा उम्मेदवारी मनोनयन दर्ता गर्नु भयो । झापा-५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि चुनावी मैदानमा हुनुहन्छ । त्यसको भोलीपल्ट बालेन्द्रले स्थानीय नेता कार्यकर्तासँग भेट गर्नुका साथै झापा, मोरङ र सुनसरीका उम्मेदवारसँग छलफल गर्नुभयो ।
सोही दिन बालेनले झापा-२ की उम्मेदवार इन्दिरा राना मगरसँग निवासमै पुगेर भेट गर्नुभएको थियो । रानासँग निवर्तमान सभामुख देवराज घिमिरे चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । झापामा चुनावी माहोल बनाएपछि बालेनले तीर्थाटन गर्न ८ गते बिहीबार ताप्लेजुङतर्फ यात्रा तय गर्नुभयो ।
यात्राका क्रममा इलाम र पाँचथरमा उम्मेदवारसँग भेटघाट गर्नुभएको थियो । सोही दिन ताप्लेजुङको फुङ्लिङ हुँदै सानो फेदी पुग्नुभएको थियो । पवित्र तीर्थस्थल पाथीभरा मन्दिर दर्शन गरेर ९ गते शुक्रबार बालेन्द्र पुन: ताप्लेजुङ फर्किएर उम्मेदवार र समर्थकसँग भेटघाट गरेर पाँचथर हुँदै मध्यपहाडी लोकमार्ग भएर तेह्रथुम पुग्नुभएको थियो ।
भोलपल्ट शनिबार तेह्रथुम सदरमुकाम म्याङलुङमा मतदातासँग अन्तरक्रिया र उम्मेदवारसँग भेटघाट सकेर संखुवासभा र तेह्रथुमको सिमामा पर्ने मुढेबजारमा संखुवासभाका उम्मेदवारसँग भेटवार्ता सकेर धनकुटा झर्नुभएको थियो । धनकुटाको हिलेमा समर्थक र उम्मेदवारसँग कुराकानी सकेर धरान र इटहरी हुँदै विराटनगर पुगेर उहाँ विमानमार्फत काठमाडौं फिर्ता हुनुभयो ।
बालेन्द्रले ११ गते आइतबार काठमाडौंमा रणनीतिक छलफल गर्नुभयो । काठमाडौं उपत्यकाका उम्मेदवारसँग छलफल गर्नुभएका बालेन रास्वपा पार्टी कार्यालय भने जानुभएन । भोलिपल्ट १२ गते सोमबार बालेन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालगञ्ज जानुभएको थियो । बाँके र बर्दियाका उम्मेदवार र समर्थकसँग कुराकानी गर्दै उहाँले तीर्थस्थल पनि भ्रमण गर्नुभयो ।
१३ गते मंगलबार भने बालेन्द्र सुदूरपश्चिम दौडाहमा निस्किनुभयो । त्यस दिन उहाँले कैलाली र कञ्चनपुरका उम्मेदवारसँग भेट गर्नुभयो । सुदूरपश्चिम भ्रमणको दोस्रो दिन १४ गते बुधबार उहाँले डडेलधुरा, बैतडी र दार्चुलाका उम्मेदवारसँग भेट गरी बझाङमा बास बस्नुभयो ।
सुदूरपश्चिम भ्रमणको तेस्रो दिन १५ गते बिहीबार भने उहाँले बाजुरा र डोटीका उम्मेदवार र समर्थकसँग कुरा गरेर अछाममा बास बस्नुभयो । सुदूरपश्चिम भ्रमणको चौथो दिन १६ गते शुक्रबार भने उहाँले कर्णाली प्रदेशको कालीकोट र दैलेखका उम्मेदवारसँग भेट गर्नुभएको थियो ।
साँझ सुर्खेत आएर बास बस्नुभएका उहाँ पाँचौ दिन १७ गते शनिबार सुर्खेतमा उम्मेदवार र समर्थकसँग भेट गरेर विमानमार्फत काठमाडौं फिर्ता हुनुभएको छ । देश दौडाहाका क्रममा बालेन्द्रले १३ दिनमा २३ जिल्लाका समर्थक र उम्मेदवारसँग भेटघाट गर्नुभयो ।
बालेन्द्र चुनावी अभियानमा निस्किँदा देखिएको चहलपहल र भीड लोभ लाग्दो छ । तर, के बालेन्द्रलाई हेर्न गएका सबैले रास्वपाका उम्मेदवार मत हाल्लान ? बालेन फ्याक्टरले केही प्रभाव पारे पनि मुलत: चुनावमा उम्मेदवारले मत पाउन उसको विगत र वर्तमान मूल्याँकन हुन्छ ।
जहाँसम्म रास्वपाका अधिकांश उम्मेदवार नयाँ छन् । यस्तो अवस्थामा चुनावबाट कस्तो नतिजा आउँछ त्यो भने मतदान सकिएपछि पनि केही समय पर्खिनु पर्छ ।