जेन-जी आन्दोलनको बलमा चुनाव : नयाँ दलमा युवाको उत्साह, पुरानामा उही अनुहार

अवसर पाएका युवा उम्मेदवारका एजेन्डा के छन् त ?
माघ १७, २०८२ |किरण पौडेल
जेन-जी आन्दोलनको बलमा चुनाव : नयाँ दलमा युवाको उत्साह, पुरानामा उही अनुहार

काठमाडौं । गत भदौमा भएको जेन-जी आन्दोलनको बलमा हुन लागेको निर्वाचनमा सबै दललाई युवाका मुद्दा मात्र नभइ उनीहरूको प्रतिनिधित्व गराउन दलहरूमा नयाँ र पुराना उमेरसमूहबीच ठूलै रस्साकस्सी भयो । 

दलहरूले युवाहरूको चाहनाअनुसार रूपान्तरण हुने भने पनि अपेक्षा अनुसार युवा उमेर समूहलाई टिकट दिएर उम्मेदवार बनाएका छैनन् । नयाँ र पुराना भनिएका दलले कुन अनुपातमा नयाँ अनुहार र युवालाई निर्वाचनमा अघि सारका छन् त ?

आसन्न निर्वाचनका लागि देशभरबाट ३ हजार ४ सय ६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। तीमध्ये विभिन्न दलका २ हजार २ सय ६३ जना छन् भने १ हजार १ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार कुल ३ हजार ४ सय ६ उम्मेदवारमध्ये २५ देखि ४० वर्ष उमेर समूहका १ हजार ५६ जना युवा उम्मेदवार छन् । 

जुन कुल उम्मेदवार संख्याको करिब ३१ प्रतिशत हो । वैकल्पिक भनिएका रास्वपासहितका दलहरूले उल्लेख्य संख्यामा युवा उम्मेदवारलाई स्थान दिएका छन्। रास्वपाले उठाएका ६५ उम्मेदवार अर्थात् ४० प्रतिशत उम्मेदवार ४० वर्षमुनिका छन् । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका १०५ उम्मेदवारमध्ये ४० जना ४० वर्षभन्दा कम उमेरका छन् । 

नयाँ दलबाट अवसर पाएका युवा उम्मेदवारका एजेन्डा के छन् त ?

नयाँ अनुहारले टिकट पाए पनि उम्मेदवारको सूचीमा युवाको संख्या निकै कम देखिन्छ । कांग्रेस, एमाले र नेकपाजस्ता दलहरूले टिकट वितरण गर्दा पाका उमेरका उम्मेदवारलाई नै प्राथमिकता दिएको निर्वाचन आयोगको तथ्यांकले पुष्टि गर्छ। कांग्रेस, एमाले र नेकपामा ४० वर्षमुनिका उम्मेदवारको उपस्थिति न्यून छ। 

१६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ४० वर्षभन्दा कम उमेरका सात जनालाई मात्रै चुनावी मैदानमा उतारेको छ। एमालेको अवस्था पनि कांग्रेससँग मिल्दोजुल्दो । एमालेका १२ उम्मेदवार ४० वर्षमुनिका छन् । नेकपाका १६४ उम्मेदवारमध्ये ४० वर्षमुनिका १३ जना रहेका छन् । पुराना दलबाट अवसर पाएर मैदानमा होमिएका उम्मेदवारका एजेन्डा के छन् । पुराना भनिएका दलहरूमा युवालाई टिकट पाउन र मैदानमा आउन कति सहज छ ?

त्यस्तै ४१ देखि ६० वर्षसम्मका उम्मेदवारको सङ्ख्या एक हजार ९ सय २५ रहेको छ भने ६० वर्ष कटेका उम्मेदवार ४ सय २५ जना छन्। जेन-जी आन्दोलनपछि हुन लागेको निर्वाचनमा पनि पुराना दलहरूको उम्मेदवारको सूची केही फेरिए पनि उमेर समहुका हिसाबले खासै रूपान्तरण देखिएको छैन। तर नयाँ उम्मेदवार युवाको वचार र अपेक्षा पूरा गर्ने रणनीतिसहित मैदानमा देखिएका छन् ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।