रूकुम पश्चिमकाे साँखमामा ‘पापिनी मेला’ : राक्षसको प्रभाव कम गर्दै सांस्कृतिक विवाह उत्सव

माघ १६, २०८२ |महेश केसी
रूकुम पश्चिमकाे साँखमामा ‘पापिनी मेला’ : राक्षसको प्रभाव कम गर्दै सांस्कृतिक विवाह उत्सव

रूकुम । रूकुम पश्चिमको मुसिकोट नगरपालिका-७ साँखमा एउटा फरक प्रकारको मेला लाग्छ । 

राक्षसको प्रभाव कम गरी प्राणीको रक्षा गर्ने जनविश्वाससहित सधैं झै यस वर्षको माघ १५ र १६ गते यस गाउँमा 'पापिनी मेला' भव्यताका साथ मनाइएको हो । 

यो हो रूकुम पश्चिमको मुसिकोट नगरपालिका-७ स्थित साँख गाउँ । यही गाउँको बीचमा छ एउटा सानो तर चिटिक्कको दह । सुन्दर भु-बनोटमा ग्रामिण जनजीवनले सु-सज्जित साँखको यही दह छेउमा हरेक वर्ष माघ १५ र १६ गते एउटा बडो बिचित्रको मेला लाग्छ । जसलाई 'पापिनी मेला' भनिन्छ ।

परापुर्व कालमा एक 'पापिनी' नामको राक्षसले सताएको र यसको प्रभाव कम गरेर प्राणीको रक्षा गर्ने उदेश्यले गाउँकै दुई बालिकालाई दुलाह-दुलहीका रूपमा तयार गरी दह छेउमा विवाहको नाटक गरिन्छ । यही रमाइलोमा रम्न टाढा-टाढाबाट सर्वसाधारणको भीड लाग्छ ।

साँखका तली गाउँ र माथी गाउँले बर्षेनि पालैपालो दुलाह-दुलही बनाउने चलन छ । यसै अनुसार यसवर्ष माथीगाउँकी चेलीलाई दुलाह अनि तली गाउँकी चेलीलाई दुलाहीका रूपमा तयार गरियो । मध्य माघको मध्यरातमा दुलाह पक्ष जन्तीको लर्कोसहित दहको माथिल्लो छेउबाट बाजागाजा बजाउँदै दुलहीको माइती घर अर्थात् दहको तल्लो छेउ पुगे । माइतीले दुलाह र जन्तीलाई चिराक बालेर भव्य स्वागत गरे ।

दुलहीको माइतीमा टिकाटालो भयो । विवाहको सामान्य विधी पूरा गरियो । अनि यही खुसिमा एकै प्रकारका पोषाक, गहना र श्रृङ्गारमा सचिएर चिरिच्यााट्ट परेका कन्याहरूले मौलिक बाजाको तालमा परम्परागत नृत्य पर्दशन गरे । अब भने दुलही लिएर जन्तीहरू नाच्दै-रमाउँदै घरतर्फ फर्किने बेला भयो । 

बाटोभरी रमझम् चलिरह्यो । केही बेरमा साविककै ठाउँ अर्थात् दहको माथिल्लो छेउमा जन्तीहरू आईपुगे । दुलहीलाई घरमा भित्र्याउने विधी पुरा गरेपछि खुसियालीमा फेरी उस्तै नाचगान गरियो । यसप्रकार एउटा परम्परागत र नाटकीय विवाह उत्सव सम्पन्न भयो । यसको भोलिपल्ट अर्थात् माघ १६ गते दिनभरी यही दहको वरिपरी ठुलो मेला लाग्यो ।

साँख गाउँको यो पापिनी विवाह उत्सव एक जनविश्वास अनि एक रमझम् । त्यो भन्दापनि ठुलो चाही आपसी सद्भाव र सहिष्णुतालाई बढवा दिने एक गज्जवको बहाना । जोगाउँदै रिती, बचाउँदै संस्कृति यसैगरी रमाउन सकौं हामी सधैभरी ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।