एक खेलअगावै थाइल्यान्डको महिला टी-२० विश्वकप पुग्ने सम्भावना समाप्त

माघ १६, २०८२ |खेल ब्युरो
एक खेलअगावै थाइल्यान्डको महिला टी-२० विश्वकप पुग्ने सम्भावना समाप्त

काठमाडौं । एक खेलअगावै थाइल्यान्डको आईसीसी महिला टी-२० विश्वकप २०२६ मा पुग्ने सम्भावना समाप्त भएको छ ।

नेपालमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्सअन्तर्गत शुक्रबार सम्पन्न खेलमा अमेरिकासँग २८ रनले पराजित भएसँगै थाइल्यान्डको विश्वकपमा छनोट हुने सम्भावना सकिएको हो । विना कुनै अंक सुपर सिक्समा पुगेको थाइ टोली यस चरणको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । अब उसले आयरल्यान्डसँग खेल्न बाँकी रहे पनि त्यो प्रतिष्ठाको लडाइ मात्र हुनेछ ।

अमेरिकाले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १९ ओभरमा १ सय रनमा अलआउट भयो । 

शुक्रबार बिहान भएको खेलमा बंगलादेशले स्कटल्यान्डमाथि ९० रनको जित निकाल्यो । जारी प्रतियोगितमा अपराजित बंगलादेशले यस अघिनै विश्वकपमा स्थान बनाइसकेको छ । बंगलादेशले दिएको १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन मात्र बनायो ।

शुक्रबार सम्पन्न अर्को खेलमा आयरल्यान्डले नेदरल्यान्ड्सविरुद्ध ९८ रनको फराकिलो जित हात पार्यो । हारका बाबजुद नेदरल्यान्ड्स यस अघिनै विश्वकपमा छनोट भइसकेको छ । सुपर सिक्समा बंगलादेशको ८ अंक छ भने नेदरल्यान्ड्सको ६ अंक रहेको छ । 

विश्वकपको अन्तिम दुई स्थानका लागि आयरल्यान्ड, स्कटल्यान्ड र अमेरिका प्रतिस्पर्धामा छन् । आयरल्यान्ड र स्कटल्यान्डको समान ४ अक छ भने अमेरिकाको २ अंक छ ।