
काठमाडौं । म्यान्मामा आम निर्वाचनअन्तर्गत तेस्रो तथा अन्तिम चरणमा आइतबार मतदान भएको छ ।
आइतबार यांगुन र मान्डलेसहित ६० टाउनसिपमा निर्वाचन भएको हो । एक महिना लामो निर्वाचन प्रक्रियाबाट देशका सैन्य शासक र तिनीहरूका राजनीतिक सहयोगीले नयाँ सरकार गठन गर्न आवश्यक संसदीय बहुमत पहिले नै सुनिश्चित गरिसकेका छन् ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार पहिलो दुई चरणमा सेनाको युनियन सोलिडारिटी एन्ड डेभपलपेन्ट-युएसडीपीले संसद्का दुवै सदनमा २३३ सिट जितेको छ । सेनाका लागि आरक्षित १६६ सिट जोड्दा यो पक्षसँग आवश्यक २ सय ९४ भन्दा धेरै सिट पुगेका छन् । अन्य १७ दलले एकदेखि १० सिटसम्म मात्र जितेका छन् ।
अन्तर्राष्ट्रिय समुदायले यो निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको भन्दै आलोचना गर्दै आएका छन् । सन् २०२१ को फेब्रुअरीमा निर्वाचित नागरिक सरकारलाई अपदस्थ गरेपछि सेनाले आफ्नो शक्ति वैधानिक देखाउन यो चुनाव आयोजना गरेको आरोप उनीहरूको छ ।
राष्ट्रसंघीय विशेषज्ञ टम एन्ड्रुजले निर्वाचन नक्कली भन्दै अस्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ । विपक्षी दललाई प्रतिबन्ध लगाएर र सञ्चारमाध्यमको घाँटी निमोठेर जुन्ताले लोकतन्त्रको मुकुन्डो पहिरिन खोजेको उहाँको भनाइ छ ।
सैन्य सरकारले मार्चमा संसद् बोलाउने र अप्रिलमा नयाँ सरकारले कार्यभार सम्हाल्ने जनाएको छ । जसअनुसार वर्तमान सैन्य सरकारका प्रमुख मिन आङ ह्लाइङ राष्ट्रपति बन्ने निश्चित छ । सन् २०२१ मा उहाँ नेतृत्वको सेनाले आङ सान सुकी नेतृत्वको सरकार अपदस्थ गरेपछि देशव्यापी विरोध प्रदर्शन भड्किएको थियो, त्यसयता म्यान्मामा गृहयुद्ध जारी छ ।
देशका ३३० टाउनसिपमध्ये करिब ७० भन्दा बढी क्षेत्रमा मतदान हुन सकेन, जसले गर्दा चुनावको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेको छ ।