
काठमाडौं । कुनै समय अम्पायर बन्ने सपना बोकेका ललितनारायण राजवंशी हाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा स्पिनर हुन् ।
गल्ली क्रिकेटबाट आफ्नो यात्रा सुरू गरेका ललितलाई सुरुवाती समयमा क्रिकेट खेल्न कुनै प्रकारको समर्थन थिएन । तर संकल्प र परिश्रमले ललितलाई विश्व मञ्चसम्म पुर्याएको छ । फास्ट बलरका रूपमा खेलेका ललितले पछि आफूलाई बायाँ हाते स्पिनरका रुपमा स्थापित गरे ।
चोट र टिममा स्थान बनाउन तीव्र प्रतिस्पर्धाकाबीच पनि उनले निर्णायक खेलमा नेपालका लागि महत्वपूर्ण योगदान दिइरहेका छन् । भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी-२० विश्वकपमा उनीबाट नेपालले ठूलो अपेक्षा गरेको छ । कान्तिपुर समाचारको नो योर राइनोमा आज ललित राजवंशीको करियरको चर्चा गर्ने छौं ।
सन् १९९९ फेब्रुरअरी २७ मा विराटनगर महानगरपालिका-४ मा जन्मिएका ललितनारायण राजवंशीले स्कुल पढ्दादेखि नै क्रिकेट खेल्थे । उनको वरपर क्रिकेट खेल्ने उचित वातावरण थिएन । परिवारको अवस्था सामान्य थियो र क्रिकेटप्रति खासै विश्वास पनि थिएन । त्यसैले उनी लुकेर खेल्थे । 'खेलेर के हुन्छ ?' भन्ने प्रश्नसागै उनले परिवारबाट कुटाइसमेत खानुपथ्र्यो । तर ती कठिन परिस्थितिले उनको क्रिकेटप्रतिको चाहना र लगावमा कुनै असर गरेन ।
विद्यालय जीवनभर ललित गल्ली क्रिकेटमै सीमित रहे । त्यहाँ उनी फास्ट बलिङ गर्थे । पूर्व राष्ट्रिय क्रिकेटर अजय राजवंशीको सल्लाहले उनको खेल जीवनमा ठूलो परिवर्तन ल्यायो । उनले ललितलाई बायाा हाते स्पिन बलर बन्न सुझाव दिए । यो सुझाव प्रभावकारी सावित भयो र ललितको बलिङ क्रमशः सुधारिँदै गयो । त्यसपछि उनले अन्तरकलेज क्रिकेट खेल्न थाले ।
त्यही समय उनी खेलाडी बन्ने कि अम्पायर बन्ने भन्ने द्विविधामा थिए । अम्पायरको तालिम लिएर केही कलेजस्तरीय प्रतियोगितामा अम्पायरको भूमिकासमेत निर्वाह गरे । तर अनुभवी अम्पायर बुद्धिबहादुर प्रधानको सल्लाहपछि उनले पहिला खेलाडीका रूपमा आफूलाई स्थापित गर्ने निर्णय गरे ।
सन् २०१३ मा क्षेत्र नम्बर-१ विराटनगरबाट खेल्दै ललितले पहिलोपटक राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरे । चार खेलमा १० विकेट लिएपछि उनी यू-१९ राष्ट्रिय टोलीको तयारी क्याम्पमा समावेश भए । सन् २०१५ मा मलेसियामा भएको एसीसी प्रिमियर कपमा उनले नेपालको अन्डर-१९ टोलीको प्रतिनिधित्व गरे । त्यसै वर्ष भएको यू-१९ विश्वकप ग्लोबल छनोटमा नेपाल च्याम्पियन बन्दा ललितको भूमिका महत्वपूर्ण रह्याे ।
तर नेपाल यू-१९ विश्वकपमा छनोट भए पनि ललित अन्तिम टोलीमा पर्न सकेनन् । उनको स्थानमा सन्दीप लामिछाने चयन भए । व्यक्तिगत रूपमा यो क्षण उनका लागि पीडादायी थियो, तर उनले त्यसलाई सहज रूपमा स्वीकार गरे । नेपाल विश्वकप पुगेको खुसी नै उनको प्राथमिकता बन्यो ।
यू-१९ क्रिकेट खेलेको केही वर्षमै ललित राष्ट्रिय टिममा प्रवेश गरे । सन् २०१८ मा जिम्बाब्वेमा भएको वान डे विश्वकप छनोटमा उनले पहिलोपटक सिनियर टोलीमा स्थान पाए । घरेलु टोली जिम्बाब्वेविरुद्धको खेलबाट उनले नेपालका लागि लिस्ट 'ए' क्रिकेटमा डेब्यु गरे ।
त्यसपछि सन् २०१८ को जुलाइमा लन्डन भ्रमणका क्रममा ऐतिहासिक लड्र्स मैदानमा नेदरल्यान्ड्सविरूद्ध उनले टी-२० अन्तर्राष्ट्रिय डेब्यु गरे । उक्त क्षण उनको करियरका लागि विशेष बन्यो । पछि नेपाल ऐतिहासिक पहिलो ओडीआई सिरिजका लागि नेदरल्यान्ड्स पुग्दा टोलीमा परेपनि उनले खेल्ने अवसर पाएनन् । वसन्त रेग्मी, शक्ति गौचन र सन्दीप लामिछानेजस्ता अनुभवी स्पिनरको उपस्थितिका कारण उनले ओडीआई डेब्युका लागि केही समय कुर्नुपर्यो ।
सन् २०१९ जनवरी २५ मा यूएईविरूद्ध उनले अन्ततः ओडीआई डेब्यु गरे । त्यसपछि उनले केही खेल लगातार खेले पनि चोट र प्रतिस्पर्धाका कारण उनी फेरि टोलीबाट बाहिरिए । सन् २०२२ नोभेम्बरमा चोटमुक्त हुँदै यूएईविरूद्ध घरेलु सिरिजबाट उनले पुनरागमन गरे । नेपालका लागि ४१ ओडीआई खेलेका ललितको नाममा ४७ विकेट छन् । ३७ टी-२० आई खेलमा उनले ३६ विकेट लिएका छन् ।
हालै मात्रिशोकमा परेका ललित त्यो पीडाबाट मुक्त हुादै टी-२० विश्व कपमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्न तयार छन् । उतारचडावपूर्ण क्रिकेट करियरका बाबजुद समर्थकले ललितको बायाँ हाते स्पिनबाट ठूलो योगदानको अपेक्षा गरेका छन् ।