
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्-आईसीसीको एसिया क्षेत्रीय सम्मेलन २०२६ नेपालमा आयोजना हुने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त सम्मेलन आगामी अप्रिल १६ र १७ तारिखमा काठमाडौंमा आयोजना हुने जानकारी दिएको हो । क्यानका अनुसार सम्मेलनमा आईसीसी एसियाका सदस्य राष्ट्रका प्रमुख पदाधिकारी, प्रशासक तथा प्रतिनिधिहरू सहभागी हुनेछन् ।
सम्मेलनका क्रममा एसियाली क्रिकेटको वर्तमान अवस्था, दीर्घकालीन रणनीति, विकास कार्यक्रम, सुशासन तथा भविष्यको दिशाबारे गहन छलफल गरिनेछ । दुईदिने सम्मेलनले एसिया क्षेत्रभित्र क्रिकेटको समग्र विकासमा सहकार्यलाई अझ मजबुत बनाउने विश्वास क्यानले व्यक्त गरेको छ ।
यस सम्मेलनको आयोजनालाई एसियाली क्रिकेट विकासमा नेपालको बढ्दो भूमिका र योगदान पुष्टि गर्ने अवसरका रूपमा हेरिएको छ ।