.png&w=1000&height=550)
काठमाडौं । छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपअन्तर्गत पुरूषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ प्रतिस्पर्धा गर्ने भएका छन् ।
पोखरा रंगशालाको भलिबल कोर्टमा शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा गएपछि गण्डकी र पर्वतले फाइनल यात्रा तय गरेका हुन् । पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२-२५ ले गुमाउन पुग्यो ।
तेस्रो सेटमा २५-२२ को नतिजा हात पारेको गण्डकी चौथो सेटमा २३-२५ ले पछि पर्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं तथा निर्णायक सेटमा १५-१३ को जित निकाल्दै गण्डकीले २ अंक प्राप्त गर्यो । पाँचौं सेटमा पराजित पर्वतले एक अंक पायो ।
गण्डकी ५ खेलबाट ११ अंकसहित शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो भने पर्वत १० अंकसहित दोस्रो स्थानमा रह्यो । समान १० अंक रहे पनि पुलिस सेट आधारमा पर्वतभन्दा पछि पर्दा अंक तालिकाको तेस्रो स्थानमा रह्यो । गण्डकी र पर्वतबीचको फाइनल खेल शनिबार दिउँसो २ बजे सुरू हुनेछ ।
त्यसअघि पुलिस र आर्मीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । त्यो खेल बिहान ११ बजेबाट सुरू हुनेछ । त्रिभुवन आर्मी क्लब चौथो, एपिएफ पाँचौं र माल्दिभ्स भलिबल एसोसियसन छैटौं स्थानमा रहेर प्रतियोगिता समाप्त गरे ।