इरानमा गर्न सकिने हस्तक्षेपबारे अमेरिकी राष्ट्रपति ट्रम्पलाई रक्षा अधिकारीहरुको ब्रिफिङ

हस्तक्षेपविरुद्ध उभिने इरानको जवाफ
प्रदर्शनमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
पुस २९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इरानमा गर्न सकिने हस्तक्षेपबारे अमेरिकी राष्ट्रपति ट्रम्पलाई रक्षा अधिकारीहरुको ब्रिफिङ

काठमाडौं । इरानमा गर्न सकिने हस्तक्षेप र त्यसमा प्रयोग हुने सैन्य उपकरणबारे अमेरिकाको रक्षा मन्त्रालयका अधिकारीहरुले राष्ट्रपति डनल्ड ट्रम्पलाई ब्रिफिङ गरेका छन् ।

लामो दूरीको मिसाइल प्रहारलाई यस आक्रमणको एक विकल्पका रुपमा लिइएको छ । पेन्टागनका अधिकारीहरुले साइबर अपरेसन र मनोवैज्ञानिक अभियानलाई प्रतिक्रियास्वरुप अघि लैजान सकिने जानकारी राष्ट्रपति ट्रम्पलाई गराएका छन् । ट्रम्पले ईरानसँग व्यापार गर्ने देशहरुमाथि लगाइएको भन्सार शुल्क २५ प्रतिशतले बढाउने निर्णयसमेत गर्नुभएको छ । 

चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स, टर्की, भारत, पाकिस्तान छन् । यता ईरानका विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकी हस्तक्षेविरुद्ध उभिने बताउनुभएको छ । यद्धपि, अराग्चीले अमेरिकासँग संवादको ढोका पनि खुलै रहेको बताउनुभएको अल जजिराले जनाएको छ । गत वर्षको १२ दिने युद्धको दाँजोमा इरान अहिले निकै सुदृढ रहेको अराग्चीको दाबी छ ।

अमेरिकामा सैन्य हस्तक्षेपको योजना बनेको खबरले इजरायलमा पनि मानिसहरु त्रसित भएका छन् । इरानले जवाफी हमला गर्नसक्ने त्रास उनीहरुलाई छ । इरानको सत्ताले आफूमाथि हमला भएमा अमेरिका र उसको सहयोगी इजरायलमाथि जवाफी कारबाही गरिने चेतावनी बारम्बार दिइरहेको छ । इजरायली सेनाले पनि सम्भावित ‘आश्चर्यजनक परिदृश्य’ का लागि तयार रहेको जनाएको छ ।

यसैबीच, मुद्रा स्फीतिका कारण दैनिक उपभोग्यको मूल्यवृद्धि भएपछि गत २८ डिसेम्बरदेखि सुरु भएको प्रदर्शनमा २ हजार मानिसको मृत्यु भएको इरानी उच्च अधिकारीलाई उद्दृत गर्दै रोयटर्सले जनाएको छ । तेहरानमा केही अस्पताल, अनौपचारिक स्रोत र विदेशमा रहेका पेसागत बुद्धिजीवी र मानवअधिकारवादीसँगको कुराकानीका आधारमा गत शनिबार नै मृतकको संख्या कम्तिमा ६ हजार पुगेको हुनसक्ने अमेरिकी सञ्चारमाध्यम टाइम डटकमको अनुमान छ । 

इन्टरनेट तथा टेलिफोन लाइन कटौती भएकाले आन्दोलनमा मारिनेहरूको यकिन संख्या पत्ता लगाउन कठिन भइरहेको हो । आन्दोलनको समर्थन र इरानी सत्ताको दमनको विरोधमा विश्वभर प्रदर्शन भइरहेका छन् ।