अमेरिकाले आक्रमण गरे इजरायली र अमेरिकी सैन्य केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

पुस २७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकाले आक्रमण गरे इजरायली र अमेरिकी सैन्य केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

काठमाडौं । इरानले अमेरिकाले आफ्नो मुलुकमाथि आक्रमण गरे इजरायली र अमेरिकी सैन्य केन्द्रहरुमा प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले प्रदर्शनकारीहरुमाथि दमन नगर्न चेतावनी दिँदै हस्तक्षेप गर्ने अभिव्यक्ति दिएलगत्तै इरानले पनि प्रत्याक्रमण गर्ने जवाफ फर्काएको हो । ट्रम्पले शनिबारमात्र अमेरिका सहयोग गर्न तयार रहेको बताउनुभएको थियो । इरानी संसदमा आइतबार बोल्दै सभामुख मोहम्मद बकार कालिवाफले इरानमा जारी प्रदर्शनलाई अपव्याख्या गरिएको टिप्पणी गर्नुभयो । 

इरानमाथि आक्रमण गरिए इजरायल र अमेरिकी सैन्य केन्द्र र जहाजलक्षित आक्रमण गरिने उहाँको भनाइ थियो । अमेरिकास्थित मानव अधिकार संस्थाका अनुसार गत २८ डिसेम्बरयता भएको प्रदर्शनका क्रममा हालसम्म ३७ सुरक्षाकर्मीसहित १ सय १६ जनाको मृत्यु भएको छ । अस्पतालहरु घाइतेले भरिएको जनाइएको छ । गत बिहीबार यता सरकारले इन्टरनेट बन्द गरेको छ ।

बढ्दो मुद्रास्फीतिका कारण सुरु भएको प्रदर्शन इरानमा १ सयभन्दा बढी सहरमा फैलिइसकेको छ । प्रदर्शनकारीहरुले इरानमा सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीको शासन अन्त्यका लागि आह्वान गरेका छन् । यसैबीच, इरानमा अपदस्थ राजाका छोरा रेजा पहलवीले सामाजिक सन्जाल एक्समा भिडियो पोस्ट गर्दै प्रदर्शनकारीहरुलाई सहयोग गर्न ट्रम्प तयार रहेको बताउनुभएको छ । 

आफू चाँडै नै जनताका माझ रहने उल्लेख गर्दै उहाँले प्रदर्शन जारी राख्न आह्वान गर्नुभएको छ । इरानमा इस्लामिक क्रान्तिपछि उहाँ अमेरिकामा निर्वासित जीवन बिताउँदै आउनु भएको छ ।