
काठमाडौै । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदूरोलाई पक्राउ गरेको ५ दिनपछि नेपाल सरकारले यस घटनाबारे प्रतिक्रिया दिएको छ । परराष्ट्र मन्त्रालयले हिजो साँझ विज्ञप्ति जारी गरी सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र तनावलाई अझै बढाउने कार्यहरुबाट बच्न आह्वान गरेको छ ।
नेपालले राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरुको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरुको पूर्ण सम्मान गर्नुको महत्वलाई समेत जोड दिएको छ ।
यसैगरी नेपालले संवाद, कूटनीति आपसी समझदारीको माध्यमबाट विवादहरु शान्तिपूर्ण समाधान गरिनुपर्नेमा पनि जोड दिएको छ ।
अमेरिकी सेनाले गत शनिबार भेनेजुएलाको राजधानी काराकासमा आक्रमण गरी राष्ट्रपति निकोलस मदूरोलाई पक्राउ गरी अमेरिका लिएर गएको थियो । मदूरोलाई न्युयोर्कको संघीय अदालतमा अवैध हातहतियार र लागूऔषधको मुद्दा लगाइएको छ ।