के हो भेनेजुएला र अमेरिकाबीचको द्वन्द्व ?

अमेरिकी कारबाहीले विश्व अर्थतन्त्रमा के प्रभाव पार्ला ?
पुस २०, २०८२ |सुमन पन्थ
के हो भेनेजुएला र अमेरिकाबीचको द्वन्द्व ?

काठमाडौं । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मदूरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएर अमेरिका पुर्‍याएको घटनाले विश्वभर नै सनसनी मच्चिएको छ । 

यसको समर्थन र विपक्षमा विश्वभरबाट प्रतिक्रिया आइरहेका छन् । महिनौं सुक्ष्म निगरानी र सैन्य अभ्यासपछि गरिएको यो कारबाही शीतयुद्धपछि दक्षिण अमेरिकामा भएको सबैभन्दा ठूलो सैन्य हस्तक्षेप मानिएको छ । के हो भेनेजुएला र अमेरिकाबीचको द्वन्द्व ? घटनाक्रम कसरी अमेरिकाले हस्तक्षेप गर्ने अवस्थासम्म आइपुग्यो र तेलको धनी मुलुकमा भएको अमेरिकी कारबाहीले विश्व अर्थतन्त्रमा के प्रभाव पार्ला ?

सन् १९५० देखि १९९८ सम्म भेनेजुएला अमेरिकानिकट साझेदार देशको रूपमा चिनिन्थ्यो । तेल उद्योगको ठूलो हिस्सा अमेरिकी निजी कम्पनीको नियन्त्रणमा थियो र व्यापारिक सम्बन्ध पनि बलियो थियो । तर १९९९ मा कम्युनिष्ट नेता हुगो चाभेजले सत्ता सम्हाल्नासाथ तेल उद्योगलाई राष्ट्रियकरण गरे, समाजवादी नीति लागू गरे, जसले दुई देशबीचको सम्बन्ध चिसो बनायो। चाभेज सरकार चीन, रूस र इरानसँग नजिकिँदै गयो र त्यसपछि अमेरिकी नजरमा यो क्षेत्रीय सुरक्षा चुनौती बन्दै गयो ।

२०१३ मा चाभेजको निधनपछि उनका चेला निकोलस मदुरो राष्ट्रपति बने । मदूरोले सत्ता सम्हालेदेखि नै अमेरिका-भेनेजुएला सम्बन्ध तनावपूर्ण रह्यो । २०१९ मा विपक्षी नेता जोआन गुएदोले आफैंलाई राष्ट्रपति घोषणा गरे । पश्चिमी मुलुकहरूले उनलाई समर्थन गरे पनि सेनाले मदुरोलाई साथ दिँदा गुएदोको प्रयास असफल रहृयो । यसको परिणामस्वरूप भेनेजुएला-चीन सम्बन्ध अझ मजबुत भयो भने अमेरिकासँगको सम्बन्ध थप जटिल ।

मदुरो र अमेरिकाबीचको द्वन्द्वका कारण बहुआयामिक छन्। एउटा कारण भनेको लागूपदार्थको तस्करी हो, जसले अमेरिका र युरोपेली मुलुकमा ठूलो चिन्ता सिर्जना गरेको छ । दोस्रो कारण भेनेजुएलाको विशाल तेल भण्डार र दुर्लभ खनिज स्रोत हो, जुन अमेरिकी स्वार्थसँग जोडिएको छ । मदूरोलाई नियन्त्रणमा लिएर अमेरिका पुर्याएपछि ट्रम्पले अब अमेरिकी कम्पनीलाई तेल कम्पनीहरुले भेनेजुएलाको पूर्वाधार निर्माणको नेतृत्व गर्ने घोषणा गरेबाट पनि यो विषयलाई बुझ्न सकिन्छ ।

यसैगरी ट्रम्प प्रशासनले पश्चिमी गोलार्धमा चीन र रूसको प्रभाव घटाउन आवश्यक ठानेको छ भने भेनेजुएलाबाट अमेरिका जाने आप्रवासन पनि राजनीतिक-सामाजिक दबाबको कारण बनिरहेको छ ।

पछिल्लोपटक अमेरिकाले मदूरो नै आपराधिक समूह कार्टेल दे लोस समूहको नेता रहेको आरोप लगाउँदै पक्राउको सूचना दिनेलाई ५ करोड अमेरिकी डलरको पुरस्कार घोषणा गरेको थियो । भेनेजुएलाबाटै अमेरिकी बजारमा कोकिन र फेन्टानिलजस्ता खतरनाक लागूपदार्थ पठाउने काम गरिरहेको आरोप ट्रम्प प्रशासनले लगाउँदै आएको थियो । 

यसलगत्तै अमेरिकाले क्यारेबियन र प्रशान्त क्षेत्रमा भेनेजुएलाका डुंगालाई निशाना बनाउँदै आक्रमण सुरु गरेको थियो । अमेरिकाले कारबाही गर्ने संकेत पाएपछि १ जनवरीमा मदूरोले अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएका थिए । तर अमेरिकाले ३ जनवरीका दिन मध्यरात आक्रमण गरेर मदूरोलाई नै नियन्त्रणमा लियो ।

प्रमुख तेल उत्पादक मुलुक भेनेजुएलामाथिको कारबाहीले विश्व अर्थतन्त्रमै गहिरो असर पुर्याउने जोखिम बढाएको छ । तेल उत्पादनमा अवरोधले अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य अस्थिर हुन सक्छ भने सम्पूर्ण वैश्विक अर्थतन्त्रमा दबाब ल्याउँछ । ट्रम्प प्रशासनको कदमलाई विश्लेषकशहरुले सैन्य, राजनीतिक र आर्थिक रणनीतिक संयोजन भनेका छन्। 

उद्देश्य भनेको केबल भेनेजुएलाको वर्तमान सरकार हटाउनुमात्र होइन, तेल, आप्रवासन, र क्षेत्रीय प्रभुत्व नियन्त्रण गर्नु पनि हो । र, यो घटनाले अमेरिका-चीन-रुस सम्बन्धदेखि अन्तर्राष्ट्रिय कूटनीतिसम्म असर पुर्याउनेछ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।