सर्वोच्च नेता खामेनेई मारिएपछि इरानमा ४० दिनको शोक घोषणा

राष्ट्रपतिसहित ३ जनाले संक्रमणकालीन सरकार सम्हाल्ने
इरानी जनतालाई एकजुट हुन पूर्वयुवराज रेजा पहलवीको अपील
फाल्गुन १७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
सर्वोच्च नेता खामेनेई मारिएपछि इरानमा ४० दिनको शोक घोषणा

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई मारिएको पुष्टि भएको छ। 

इरानका सरकारी टेलिभिजन र विभिन्न सञ्चारमाध्यमहरुले अमेरिका र इजरायलले गरेको आक्रमणका क्रममा सर्वोच्च नेता खामेनी मारिएको पुष्टि गरेका हुन् । यसअघि अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले खामेनेई मारिएको दाबी गरे पनि इरानी अधिकारीहरूले उहाँ सुरक्षित नै रहेको बताउँदै आएका थिए। 

आइतबार बिहान मात्रै इरानी अधिकारीहरूले पनि खामेनेईको मृत्यु भएको पुष्टि गरेको त्यहाँका सञ्चारमाध्यमहरुलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ । सर्वोच्च नेता खामेनेईको मृत्युपछि इरानमा ४० दिने सार्वजनिक शोक तथा ७ दिनको सरकारी बिदाको घोषणा गरिएको छ । 

खामेनेई मारिएपछि अब त्यहाँको सत्ता सञ्चालन राष्ट्रपति मसूद पेजेस्कीयन, न्यायपालिका प्रमुख र गार्जियन काउन्सिलका एक सदस्यले गर्नेछन् । अमेरिका र इजरायलले इरानका १८ प्रान्तमा ५८ आक्रमण गरेका थिए । त्यसक्रममा २ सय जना मारिएको रेड क्रिसेन्टले जनाएको छ । 

मारिनेमा खामेनेइसहित ४० उच्च अधिकारी छन् । आइतबार बिहानै पनि तेहरानमा विस्फोटका आवाज सुनिएका थिए । आक्रमणपश्चात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नागरिकहरुका लागि सत्ता आफ्नो नियन्त्रणमा लिने सुनौलो अवसर आएको बताउनुभएको छ । 

उहाँले पूरै साता मध्य पूर्वसहित विश्वमा शान्ति स्थापित गर्नका लागि बमबारी जारी रहने बताउनुभएको छ । तर अमेरिका र इजरायलतर्फ प्रत्याक्रमण नगर्न चेतावनी दिँदै उहाँले त्यसो गरे अहिलेसम्म कहिल्यै नदेखिएको बल प्रयोग गर्ने बताउनुभएको छ ।

यता निर्वासित पूर्वयुवराज रेजा पहलवीले इरानी जनतालाई एकजुट हुन अपील गर्नुभएको छ । खामेनेई मारिएपछि उहाँले ‘एक स्वतन्त्र र खुसीयुक्त भविष्यका लागि एक स्थिर परिवर्तन’को समर्थन गर्न अपील गर्नुभएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले भने खामेनेईको मृत्युको खबरलाई प्राथमिकताका साथ प्रकाशित प्रसारित गरेका छन् भने तेहरानमा खामेनेई समर्थकले शोक मनाइरहँदा विपक्षीहरुले भने खुसीयाली मनाएका छन् ।