थाइल्यान्डसँग जोडिएका सबै सीमा नाका बन्द गर्ने कम्बोडियाको घोषणा

थाइल्यान्ड र कम्बोडियाबीचको झडपमा एक सातायता मृत्यु हुनेको संख्या १५ पुग्यो, २ सय ७० घाइते
मंसिर २८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
थाइल्यान्डसँग जोडिएका सबै सीमा नाका बन्द गर्ने कम्बोडियाको घोषणा

काठमाडौं । कम्बोडियाले थाइल्यान्डसँग जोडिएका आफ्ना सबै सीमा नाका बन्द गर्ने घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले दुई देशबीच युद्धविराम भएको बताए पनि दुवै मुलुकबीच झडप नरोकिएपछि कम्बोडियाले यस्तो घोषणा गरेको हो । कम्बोडियाको गृह मन्त्रालयले थप सूचना नआएसम्म नाका बन्द रहने जनाएको छ । 

यसअघि थाई प्रधानमन्त्री अनुतीन चर्नभिराकुलले कम्बोडियाले आफ्ना सबै सेनालाई युद्ध मैदानबाट फिर्ता बोलाएपछि मात्रै युद्धविराम हुने धारणा ट्रम्पसँग राख्नु भएको थियो । अमेरिकाले दुई देशबीच युद्ध अन्त्यका लागि मध्यस्थता गरिररहेको जनाएको छ । थाई अधिकारीहरूले शनिबार चार सैनिक मारिएका र दुवै पक्षबाट बम तथा गोली चलेका जनाएका छन्। 

यससँगै सोमबारयता, मारिने सैनिकको संख्या १५ पुगेको छ । २ सय ७० जना घाइते छन् । कम्बोडियाको रक्षा मन्त्रालयले थाई लडाकू विमानले आफ्नो देशमा प्रवेश गरेर होटल र पुलमा बम प्रहार गरेको दाबी गरेको छ । तर, युद्धमा मारिएका सैनिकको नाम सार्वजनिक गरिएको छैन । उता, थाइल्यान्डले कम्बोडियाली रकेट आक्रमणमा केही नागरिक घाइते भएको बताएको छ ।

युद्धकाकारण सीमावर्ती क्षेत्रबाट कम्तिमा ७ लाख मानिस विस्थापित भएका छन् । दुई देशबीचको लामो समयदेखिको सीमा विवादका कारण पटक-पटक युद्ध हुने गरेको छ । पछिल्लोपटक २४ जुलाईमा कम्बोडियाले थाइल्यान्डमाथि प्रहार गरेपछि युद्ध सुरु भएको थियो ।