भारतमा लगानी गर्न विश्वका ठूला प्रविधि कम्पनीको प्रतिस्पर्धा

माइक्रोसफ्टले साढे १७ अर्ब डलरको प्रतिबद्धता जनाएको भोलिपल्ट अमेजनद्वारा ३५ अर्बको लगानी घोषणा
मंसिर २४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारतमा लगानी गर्न विश्वका ठूला प्रविधि कम्पनीको प्रतिस्पर्धा
Photo Source : cnbc

काठमाडौं । विश्वकै अग्रणी इ-कमर्श कम्पनी अमेजनले आगामी पाँच वर्षभित्र भारतमा ३५ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । 

अर्को ठूलो टेक कम्पनी माइक्रोसफ्टले साढे १७ अर्ब डलर लगानीको घोषणा गरेको भोलिपल्ट अमेजनले त्यसको दोब्बर लगानीको घोषणा गरेको हो । कम्पनीका वरिष्ठ उपाध्यक्ष अमित अग्रवालले बुधबार लगानी विस्तारको घोषणा गर्नुभएको हो । कम्पनीले आर्टिफिसियल इन्टलिजेन्स क्षमतालाई सुदृढ गर्न लगानी बढाउन लागेको जनाएको हो ।

अमेजनले विश्वको तेस्रो अर्थतन्त्र भारतमा आफ्नो उपस्थितिलाई थप मजबूत पार्न लगानी वृद्धि गरिएको उल्लेख गरेको छ । पाँच वर्षअवधिमा २० अर्ब डलरको निर्यातलाई बढाएर ८० अर्ब पुर्‍याउने र थप १० लाख रोजगारीको अवसर तयार गर्ने लक्ष्य रहेको पनि अमेजनले जनाएको छ । 

अमेरिकी इ-कमर्श कम्पनी अमेजनले सन् २०१० यता भारतमा ४० अर्ब डलर लगानी गरिसकेको छ । माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्य नाडेलाले मंगलबारमात्र सन् २०३० सम्म एआई र क्लाउड पूर्वाधार निर्माणका लागि भारतमा १७ दशमलब ५ अर्ब डलर लगानीको प्रतिबद्धता जनाएको थियो । गुगलले पनि आगामी पाँच वर्षमा एआइ डेटा सेन्टर निर्माण गर्न भारतमा १५ अर्ब डलर लगानी गर्ने जनाइसकेको छ ।