पश्चिम अफ्रिकी मुलुक बेनिनमा सैन्य ‘कू’

मंसिर २१, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
पश्चिम अफ्रिकी मुलुक बेनिनमा सैन्य ‘कू’

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक बेनिनमा सैन्य ‘कू’ भएको छ । 

सैनिकहरूको एक समूहले सरकारी टेलिभिजनमार्फत राष्ट्रपति प्याट्रिस टालोनलाई अपदस्थ गर्दै सत्ता हातमा लिएको घोषणा गरेको हो । सैनिकहरूले देशको संविधान निलम्बन भएको र सबै स्थल तथा हवाई मार्ग बन्द भएको पनि घोषणा गरेका छन् । अन्तरिम सरकारको नेतृत्व लेफ्टिनेन्ट कर्णेल टिग्री पास्कलले गर्ने उनीहरूले जनाएका छन् ।

मुख्य सहर कोटोनोउस्थित राष्ट्रपतिको आवासनजिक बन्दुकका आवाज सुनिएको बेनिनस्थित फ्रान्सेली दूतावासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर, राष्ट्रपतिका सहयोगीहरूले भने राष्ट्रपति सुरक्षित रहेको र ‘कू’को घोषणा गर्ने समूहलाई सेनाको समर्थन नरहेको दाबी गरेको छ । 

विदेश मन्त्रालयले पनि स्थिति नियन्त्रणमा रहेको जनाएको छ । सेनाको सानो समूहले टेलिभिजनमात्र नियन्त्रणमा लिएको र अन्यत्र स्थिति सामान्य रहेको सरकारले जनाएको छ । तर, राष्ट्रपति कहाँ हुनुहुन्छ भन्ने स्पष्ट हुन सकेको छैन । बेनिन अफ्रिकामा तुलनात्मक रूपमा राजनीतिक स्थिरता भएको मुलुक मानिन्छ । यहाँ सन् २०१६ देखि व्यवसायी प्याट्रिस टालोन राष्ट्रपति हुनुहुन्छ ।