दक्षिण अफ्रिकाको एक छात्रावासमा बन्दुकधारीको आक्रमण, ११ को मृत्यु

मंसिर २०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
दक्षिण अफ्रिकाको एक छात्रावासमा बन्दुकधारीको आक्रमण, ११ को मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा बन्दुकधारीहरूको आक्रमण परी तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु भएको छ ।

आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै दक्षिण अफ्रिकाका प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको बताउनुभयो । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुँदा दश जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । 

तीन जना बन्दुकधारीहरू छात्रावास परिसरमा प्रवेश गरी पुरुषहरूको समूहमा अन्धाधुन्ध गोली हानेको जनाइएको छ । अहिलेसम्म कसैलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । औद्योगिक राष्ट्र दक्षिण अफ्रिका संगठित सञ्जालद्वारा सञ्चालित अपराध र भ्रष्टाचारसँग जुधिरहेको छ । यहाँ धेरै जनासँग व्यक्तिगत सुरक्षाका लागि इजाजतपत्र प्राप्त हतियारहरू रहेको तर धेरै अवैध बन्दुकहरू प्रचलनमा रहेको जनाइएको छ ।