बिहार विधानसभा निर्वाचनमा प्रधानमन्त्री मोदी नेतृत्वको एनडीए गठबन्धनको जित सुनिश्चित

कार्तिक २८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
बिहार विधानसभा निर्वाचनमा प्रधानमन्त्री मोदी नेतृत्वको एनडीए गठबन्धनको जित सुनिश्चित
Photo Source : Agency

काठमाडौं । भारतको बिहार राज्यमा भएको विधान सभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको नेसनल डेमोक्रेटिक अलायन्स-एनडीए गठबन्धनको अग्रता देखिएको छ ।

एनडीए गठबन्धनले २ सय २ भन्दा धेरै सिटमा अग्रता बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गठबन्धनका घटकमध्ये भारतीय जनता पार्टी -भाजपा ९०, जनता दल युनाइटेड–जेडीयू ८४ र लोक जनशक्ति पार्टी राम विलासले १९ स्थानमा अग्रता बनाएका छन् ।

राहुल गान्धी नेतृत्वको महागठबन्धनले ३५ स्थानमा अग्रता बनाएको छ । यस गठबन्धनका मुख्य घटक राष्ट्रिय जनता पार्टी-२४ , कंग्रेस ६ र भारतीय कम्युनिष्ट पार्टी -मार्क्सवादी-लेलिनवादी २ स्थानमा अघि छन् । यस्तै अन्य दलले ६ स्थानमा अग्रता बनाएका छन् ।

सरकार बनाउन १ सय २२ सिट आवश्यक छ । एनडीए गठबन्धनले दुई सयभन्दा बढी सिटमा स्थानमा अग्रता बनाएसँगै त्यहाँ एनडीएको सरकार बन्ने लगभग तय भएको छ । यसैबीच पाँचौंपटक बिहारको मुख्यमन्त्री बन्न लागेका नितिश कुमारलाई प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिनुभएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यही नोभेम्बर ६ र ११ मा दुई चरणमा २ सय ४३ सिटका लागि चुनाव भएको थियो । निर्वाचनमा ६६ दशमलव ९१ प्रतिशत मत खसेको भारतको निर्वाचन आयोगले जनाएको छ । भारतको स्वतन्त्रतायता बिहार राज्यमा भएका कुनै पनि निर्वाचनमा यति धेरै मत खसेको यो पहिलोपटक हो ।