
काठमाडौं । राष्ट्रपति डनल्ड ट्रम्पले खर्च विधेयकमा हस्ताक्षर गरेसँगै अमेरिकामा जारी इतिहासकै लामो सटडाउन अन्त्य भएको छ ।
तल्लो सदनबाट पारित भएको दुई घण्टामै ट्रम्पले विधेयकमा हस्ताक्षर गर्नुभएको हो । विधेयकमा हस्ताक्षर गरेपछि ट्रम्पले अब संघीय सरकारले पुनः कामकाज सुरु गर्ने बताउनुभयो ।
विधेयक पारित नहुँदा अमेरिकामा ४३ दिनदेखि सटडाउन थियो, जसका कारण आपतकालीनबाहेक सरकारका सबैजसो कामकारबाही ठप्प थिए । झण्डै १४ लाख संघीय प्रशासनिक कर्मचारीले तलब पाउन सकेका थिएनन् । खाद्य सहायता कार्यक्रम प्रभावित भएको थियो भने घरेलु उडान कटौती भएका थिए । सटडाउनका कारण अर्थतन्त्रमा दैनिक १ अर्ब डलरभन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।
कंग्रेसभित्र रिपब्लिकन र डेमोक्र्याटहरूबीचको तिब्र मतभेदका कारण विधेयक पारित हुन सकेको थिएन । विशेष गरी सीमा सुरक्षा, आप्रवासन नीति र स्वास्थ्य सेवा बजेटलाई लिएर विवाद चुलिएको थियो । कंग्रेसले नयाँ वित्तीय वर्षको बजेट पारित गर्न असफल भएसँगै गत अक्टोबर ९ तारिखबाट सटडाउन शुरु भएको थियो । रिपब्लिकनहरूले मेक्सिको सीमामा पर्खाल निर्माणका लागि थप ५ अर्ब डलर माग गरेका थिए । जसलाई डेमोक्र्याटहरूले अस्वीकार गरे । राष्ट्रपति ट्रम्पले पनि यो मागलाई आफ्नो प्रमुख प्राथमिकताको रूपमा अघि सारेका थिए । सिनेटमा सात डेमोक्र्याट र एक स्वतन्त्र सांसदले समर्थन जनाएपछि सटडाउन अन्त्य गर्ने बाटो खुलेको थियो ।
तर ट्रम्प प्रशासनले २ करोड ४० लाख अमेरिकीहरुका लागि दिँदै आएको स्वास्थ्य बिमाको अनुदान भने नवीकरण नगर्ने बताउँदै आएको छ । यो विषयमा भने डिसेम्बरसम्ममा सिनेटमा मतदान हुने तय भएको छ ।