
काठमाडौं । अमेरिकामा ४० दिनदेखि जारी सटडाउन अन्त्य गर्ने बाटो खुलेको छ ।
सिनेटमा भएको मतदानमा सटडाउन अन्त्य गर्ने पक्षमा ६० र विपक्षमा ४० मत परेसँगै सटडाउन अन्त्यको बाटो खुलेको हो । डेमोक्रेटिक पार्टीका आठ सांसद्ले सरकार र रिपब्लिकन पार्टीका नेतालाई सटडाउन खोल्न दिने समझदारी गरेको केही समयपछि सिनेटमा मतदान भएको हो ।
सटडाउन तत्कालै अन्त्य गर्ने र अफोर्डेबल केयर एक्टअन्तर्गत स्वास्थ्य बीमा अनुदान र अन्य मुद्दाबारे बेग्लै मतदान गर्ने सहमति बनेको छ । अमेरिकामा ४० दिनदेखि जारी सटडाउनको असर देशभर परेको छ । मतदानअघि यातायातमन्त्री सियन डफीले थ्याङ्क्स गिभिङअघि ठूलो संख्यामा हवाई यात्रा कटौती हुने बताएका थिए ।
सटडाउन अन्त्यका लागि केही प्रक्रिया भने बाँकी छ । यसका लागि आर्थिक विधेयकलाई तल्लो सदनमा पठाइनेछ र त्यहाँबाट राष्ट्रपतिकहाँ पुर्याउनुपर्नेछ । सटडाउनका कारण अमेरिकामा ४० दिनदेखि आपतकालीनबाहेक सबै सरकारी सेवा ठप्प छन् । झन्डै १४ लाख संघीय कर्मचारीले यस अवधिमा तलब पाएका छैनन् ।