
काठमाडौं । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले जेन-जी पुस्ताको आन्दोलनका नाममा स्वार्थ केन्द्रित काम भइरहेको बताउनुभएको छ ।
सोमबार 'घर फर्क राष्ट्रिय अभियान' कार्यक्रममार्फत नेकपा एमालेमा समाहित हुँदै नेतृ झाँक्रीले यस्तो बताउनुभएको हो । उहाँले जेन-जी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश भए पनि त्यसमा रोटी सेक्नेहरू धेरै भएको बताउनु भयो । अहिले जेन-जी आन्दोलन भर्सेस नेकपा एमाले जस्तो भाष्य खडा गरिएको उहाँले बताउनु भयो ।
जेन-जी आन्दोलनका स्टक होल्डरहरू नजानिँदो ढंगले आफूलाई दाबी गरेर स्वार्थ केन्द्रित काम गर्न थालेको उहाँकाे भनाइ थियाे । जेन-जी आन्दोलनमा रोटी सेक्नेहरू एमालेविरूद्धमा खनिएको उहाँले आराेप लगाउनु भयो ।
नेतृ झाँक्रीले समाज कहाँ जाँदैछ भनेर चिन्ता गर्नुपर्ने बताउनु भयो । क्रान्तिकारी शक्तिहरू अब अलमल गरेर बस्न नहुने भन्दै एमालेमा फर्किन उहाँले आह्वान गर्नुभयो । सार्वभौमिकता, सार्वजनिक सम्पत्ति, नागरिक जीवनको रक्षाका लागि नेकपा एमालेमा आउनुपर्ने उहाँकाे भनाइ थियाे।