
काठमाडौं । उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री क्षेत्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
अमेरिका र उत्तरकोरियाबीच लामो समयदेखि वार्ता अवरूद्ध भइरहेका बेला भएको क्षेप्यास्त्र प्रहारले पुन: क्षेत्रीय तनाव बढाएको छ । दक्षिण कोरियाका संयुक्त प्रमुख सेनानीले उत्तर कोरियायले पूर्वी समुद्री क्षेत्रमा कम्तिमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताए पनि विस्तृत विवरण सार्वजनिक भएको छैन ।
क्षेप्यास्त्रको प्रकार, दायरा वा उडान दूरीबारे विस्तृत विवरण सार्वजनिक नगरिएको हो । गत महिनादेखि उत्तर कोरियाले आफ्नो हतियार परीक्षणलाई निरन्तरता दिँदै आएको छ । यस अवधिमा प्योङयाङले हाइपरसोनिक र क्रुज मिसाइलहरू फायर गरेको थियो ।
उसले ती परीक्षणलाई आफ्नो आणविक–सशस्त्र सेनाको क्षमतावृद्धिका रूपमा व्याख्या गरेको थियो । गत सोमबार मात्रै दक्षिण कोरियाली सेनाले आफ्नो पश्चिमी समुद्री क्षेत्रमा उत्तर कोरियाले करिब १० राउन्ड तोप आक्रमण गरेको जनाएको थियो । त्यही दिन अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले दक्षिण कोरियाको दुई दिने औपचारिक भ्रमण सुरू गर्नुभएको थियो ।
दक्षिण कोरियाको ग्योङ्जु सहरमा यही शनिबार दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुन लागेको शिखर सम्मेलनअघि उत्तर कोरियाले फेरि समान संख्यामा आर्टिलरी प्रहार गरेको बताइएको छ । यसैबीच, उत्तर कोरियाले अमेरिकी प्रशासनले आफ्ना साइबर अपराधहरूलाई लक्षित गरी थप प्रतिबन्ध घोषणा गरेकोप्रति आपत्ति जनाउँदै वासिङ्टनमाथि ‘दुष्ट शत्रुताको नीति’ अपनाएको आरोप लगाएको छ ।
केही विश्लेषकहरूले उत्तर कोरियाको यो वक्तव्यले प्योङयाङ तत्काल वासिङ्टनसँग वार्ता गर्न इच्छुक नरहेको संकेत गरेको बताएका छन् ।