अमेरिकामा ४० विमानस्थलका उडान कटौती गरिने

कार्तिक २१, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकामा ४० विमानस्थलका उडान कटौती गरिने

काठमाडौं । अमेरिकी अधिकारीहरूले देशका व्यस्त ४० विमानस्थलमा उडान कटौती गर्ने भएका छन् । 

यो निर्णयले दैनिक हजारौं उडान स्थगित हुने भएका छन् । एयर ट्राफिक कन्ट्रोलरमाथि कामको दबाब कम गर्न यो योजना बनाइएको हो । विमानस्थलको कन्ट्रोल टावरमा एयर ट्राफिक कन्ट्रोलरहरूको संख्या अहिले निकै कम रहेको अधिकारीहरूले बताएका छन् । अमेरिकामा ३७ दिनदेखि जारी इतिहासकै लामो सटडाउनका कारण झन्डै १४ लाख संघीय कर्मचारीले तलब पाएका छैनन् । आपतकालीनबाहेकका अन्य सरकारी सेवा ठप्प प्रायः छन् ।

विमानस्थलका केही कर्मचारी बेतलवी बिदामा बसेका छन् । कर्मचारी संगठनहरूले कर्मचारी थकित देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । त्यसपछि उडान कटौती हुने ४० वटा विमानस्थलको सूची संघीय उड्ययन प्रशासनले सार्वजनिक गरेको हो । यद्यपि अन्तर्राष्ट्रिय उडान कटौती नगर्ने प्रशासनले जनाएको छ । 

घरेलु उडान कटौती हुने विमानस्थलको सूचीमा हार्टस्फिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थल, एटलान्टा विमानस्थल, डालस फोर्ट वर्थ इन्टेरनेसनल, डेन्भर इन्टरनेसनल, सिकागो विमानस्थल, लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थल जस्ता विश्वकै अति व्यस्त विमानस्थल पनि छन् ।