मस्क विश्वकै पहिलो खर्बपति बन्ने सम्भावना

मस्कलाई टेस्लाले दियो ट्रिलियन डलरको बोनस प्याकेज
कार्तिक २१, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
मस्क विश्वकै पहिलो खर्बपति बन्ने सम्भावना

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्क अब पहिलो खर्बपति बन्ने सम्भावना देखिएको छ । 

टेस्लाका सेयरधनीहरूले मस्कलाई ठूलो मात्रामा बोनस प्याकेज उपलब्ध गराउन स्वीकृति दिएपछि उहाँ खर्बपति बन्ने बाटो खुलेको हो । उहाँले केही दीर्घकालीन लक्ष्य पूरा गरेमा एक ट्रिलियन डलर कमाउनुहुने छ । टेस्लाको टेक्सासस्थित मुख्यालयमा बसेको सेयरधनीहरूको बैठकमा भएको मतदानपछि मक्सलाई ट्रिलियन डलरको पे प्याकेज दिने निर्णय भएको हो । 

सेयरधनीमध्ये ७५ प्रतिशतभन्दा धेरैले मस्कको पक्षमा मत दिएका थिए । उहाँलाई टेस्लामा टिकाइ राख्न यस्तो निर्णय गरिएको हो । मस्ककाअनुसार टेस्लाको प्रगति एआई, सेल्फ-ड्राइभिङ प्रविधि र रोबोटिक्समा निर्भर छ । हाल मस्कको कुल सम्पत्ति ५ सय बिलियन डलर छ । 

उहाँ फोर्ब्सको रियल टाइम बिलिनियरको सूचीमा पहिलो नम्बरमा हुनुहुन्छ । टेस्लाको बजार मूल्य दुई ट्रिलियन पुगेपछि मस्कले बोनस प्याकेजको पहिलो अंश पाउनुहुने छ । त्यस्तै टेस्लाको बिक्री दुई करोड पुगेपछि उहाँलाई बोनस प्याकेजअन्तर्गत अर्को प्याकेज प्रदान गरिने छ । कम्पनीले मस्कलाई कम्तिमा साढे सात वर्ष टिकाइ राख्ने गरी यो प्याकेज तयार पारेको हो ।