कांग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रह : तत्काल निर्वाचनमा जाने निर्णय गरियोस्

कार्तिक २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रह : तत्काल निर्वाचनमा जाने निर्णय गरियोस्

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलहरूले अलमल नगरी निर्वाचनको माहौल बनाउने काममा लाग्नुपर्ने बताउनु भएको हो । पूर्वराष्ट्रपति यादवले निर्वाचनमा जाने औपचारिक निर्णय गर्न ढिलाइ नगर्न पनि कांग्रेसलाई सचेत गराउनु भयो । 

कांग्रेसले अलमल नगरी तत्काल निर्वाचनमा जाने निर्णय लिए मुलुकमा निर्वाचनको माहौल सृजना हुने उहाँको बुझाइ थियो । पूर्वराष्ट्रपति यादवले मुलुक जेन-जी पुस्ताले पनि यही संविधान मानेर अघि बढ्छु भनेकाले निर्वाचनमा जानका लागि कुनै समस्या नभएको जिकिर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘पोलिटिकल पार्टीहरूले अब निर्वाचनलाई सम्पन्न गर्न सहयोग गर्नुपर्छ । अलमल नगरी पोलिटिकल पार्टीहरूले चुनावको माहाेला बनाएर जानुपर्छ । कांग्रेस लिडिङ पार्टी हो । अहिले कांग्रेस के डिसाईड गर्छ ? कांग्रेसले जुन दिन डिसाइड गरेर अघि बढ्छ, त्यो दिन मुलुक चुनावमा जान्छ । त्यो दिन देश चुनावमय हुन्छ । र, चुनाव सफल हुन्छ । त्यसका लागि तपाईहरूले चाँडै डिसाइड गर्नुस् । अब अलमलमा नबस्नुस् । अरू पार्टीहरू जेन-जी भाईबहिनीहरूलाई जसले यही संविधानलाई टेकेर अघि बढनुपर्छ भनेका छन् । आफूमा छलफल गर्नुस् ।’

पूर्वराष्ट्रपति यादवले आफूले प्रधानमन्त्री सुशीला कार्कीलाई पनि निर्वाचनको वातावरण बनाउन ध्यानाकर्षण गराएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.