
काठमाडौं । फिलिपिन्समा विनाशकारी 'कलमेगी' आँधीको क्षतिबाट राम्ररी सम्हालिन नपाउँदै एक साताभित्रै अर्को शक्तिशाली आँधी 'फुङ वोङ' को प्रभाव सुरू भएको छ ।
आइतबार विभिन्न ११ क्षेत्रका ९ लाख २० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको सरकारी अधिकारीहरूले जनाएका छन् । आँधीका कारण राजधानी मनिला रहेको लुजोनसहित पूर्वी तथा उत्तरी क्षेत्र प्रभावित हुने अनुमान गरिएको छ । राजधानी मनिलामा २ सय मिलिमिटर वर्षा हुने र बाढी आउने बताइएको छ । यस्तै, तीव्र गतिको हावासहितको आँधीले काटान्डुनेस प्रान्तमा क्षति पुर्याइसकेको छ ।
हजारौं परिवारले जिम्न्याजियम, थिएटर तथा सरकारी भवनमा आश्रय लिएका छन् । मौसम निकाय पागासले फुङ वोङलाई सुपर टाइफुन भनेर वर्गीकरण गरेको छ । यसको प्रभाव फिलिपिन्सभर नै पर्ने अनुमान गरिएको छ । फिलिपिन्स नागरिक उड्डयन प्राधिकरणले तीन सय वटा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ ।
फुङ वोङसहित यो वर्ष फिलिपिन्समा २१ वटा आँधीले क्षति पुर्याइसकेको छ । यसै साता आएको कलमेगी आँधीका कारण फिलिपिन्समा दुई सय जनाको मृत्यु भएको थियो ।