अन्तरिम सरकारका मन्त्रीहरूलाई संयमित भएर बोल्न ओलीको चेतावनी

कार्तिक २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
अन्तरिम सरकारका मन्त्रीहरूलाई संयमित भएर बोल्न ओलीको चेतावनी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहर"लाई संयमित भएर बोल्न चेतावनी दिनुभएको छ ।

सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजित 'घर फर्क राष्ट्रिय अभियान' घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै यस्तो चेतावनी दिनुभएको हो । उहाँले वर्तमान सरकारलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने कार्यभार दिएको भए पनि विवादस्पद कार्य गरिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । 

उहाँले विभिन्न देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाउनु भयो । निर्वाचन सुनिश्चित गर्न बनेको अस्थायी सरकारको रूपमा सीमित रहन प्रधानमन्त्री एवं मन्त्रीहरूलाई उहाँको आग्रह छ ।

उहाँले भन्नुभयो, ‘अहिले सरकारका मन्त्रीज्यूहरूलाई धेरै जिब्रो नचलाउन म आग्रह गर्न चाहन्छु । अनि तपाईहरूलाई फागुन २१ गते चुनाव गराउने भनेको होइन ? सुन्नुभएको छैन ? कहिले राजदूत फिर्ता गरेको छ, फिर्ता नगर भनेर अदालतले भन्छ त्यसपछि पनि हाजिर हुनु ? अहिलेको सरकारभन्दा माथिका मान्छे पनि एम्बेसडर हुनको लागि जान्छन् देशको प्रतिनिधिको हैसियतले । राजदूतहरू फिर्ता भएर परराष्ट्र मन्त्रालयमा हाजिर हुुनु रे । यो कस्तो आदेश हो ? कुन संसारमा छौं तिमीहरू ? कानून थाहा छ कि छैन, कूटनीति थाहा छ कि छैन, राजदूत आएर मन्त्रालयमा हाजिर हुनु रे । सेवाबाट गएको सचिव होइन नि राजदूत उ त विद्वत व्यक्तित्व हो । उ गएर परराष्ट्रमा हाजिर गर्ने ? यस्ता हावा कुरा गर्ने ? अलि सम्हालिएर व्यवहार गर्नुपर्छ नि सरकारले, यस्ता कुरा गर्ने ? सरकारको अवधि चार महिना पनि बाँकी छैन, फुर्ती चाहीँ घामजुन रहुञ्जेल रहने हुन की जस्तो छ । चुनाव गरेर देखाउ न, आफूलाई दिइएको जिम्मेवारी पो गरेर देखाउनुपर्छ त । यो सरकार चुनाव गर्न बनेको होइन । हामीले यस्तो धेरै देशमा देखेका छौं ।’

वर्तमान सरकार असंवैधानिक भएको भन्दै अध्यक्ष ओलीले सरकारले चुनाव गराउन नसक्ने दोहोर्‍याउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.