विनाशकारी 'कलमेगी' आँधीका कारण भियतनाममा ३५ जनाको मृत्यु

कार्तिक २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
विनाशकारी 'कलमेगी' आँधीका कारण भियतनाममा ३५ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्समा विनाश निम्त्याउँदै अघि बढेको आँधी 'कलमेगी' का कारण भियतनाममा ३५ जनाको मृत्यु भएको छ ।

भियतनामको राष्ट्रिय विपद् व्यवस्थापन निकायले अहिलेसम्म ३५ जनाको मृत्यु भएको जनाएको हो । यस्तै, १ लाख घर बाढीबाट प्रभावित भएको र १ सय ५० भन्दा बढी स्थानमा पहिरो गएको वातावरण मन्त्रालयले जनाएको छ। आँधीबाट तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् भने युनेस्कोको विश्व सम्पदामा सूचीकृत पर्यटकीय शहर हुई र ऐतिहासिक स्थल होइ आन बाढी र डुबानको चपेटामा परेका छन् ।

आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय ४० पुगेको छ । फिलिपिन्सका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको र १ सय २७ जना अझै बेपत्ता भएको जनाइएको छ । बाढी र डुबान प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्य जारी छ ।

राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रिय विपत्तिको अवस्था घोषणा गर्दै राहतका लागि सरकारी कोष स्थापना गर्न र आवश्यक सामग्रीहरुको मूल्यमा सीमा तोक्न निर्देशन दिनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.