
काठमाडौं । मध्य फिलिपिन्समा आएको 'कल्माइगी' आँधीका कारण २६ जनाको मृत्यु भएको छ ।
फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अनुसार आँधीका कारण डेढ लाख मानिस विस्थापित भएका छन् भने कयौं मानिसहरू डुबेका घरका छतमा बस्न बाध्य भएका छन् । यस्तै, कार तथा गाडीहरू सडकमा तैरिइरहेका देखिएका छन् । अधिकांशको मृत्यु डुबेर भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।
शक्तिशाली आँधीले सेबु प्रान्तमा मात्र २१ जनाको मृत्यु भएको र कैयौं सहर डुबानमा परेको छ । सेबुको तालिसे सहरमा एउटा घरमात्र पानीबाहिर देखिएको जनाइएको छ । उक्त क्षेत्रमा १ सय ६० वटा उडान रद्द गरिएका छन् । यसैबीच, उद्धारका लागि तटीय शहर बुटुआनका लागि उडेको फिलिपिन एयर फोर्सको हेलिकोप्टर उत्तरी मिन्डानाओ टापुमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना बेपत्ता भएका छन् ।