
काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनका लागि उम्मेदवारी दिने बताउनुभएको छ ।
दशकौंदेखि देशको शक्ति सङ्घर्षमा एक प्रभावशाली रहँदै आएकी ८० वर्षीया जियालाई उहाँको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको छ। चुनावमा खालिदाको सहभागिताको घोषणा बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले गर्नुभएको हो ।
उहाँले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने बताइएको छ। सन् २०२४ को अगस्टमा भएको जनविद्रोहबाट सत्ताच्युत भएकी र लामो समयदेखिकी प्रमुख प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वमा वर्षौँ जेल सजाय भोगेकी सम्झौताहीन नेतृको स्वास्थ्य निकै कमजोर रहेको छ । तीन पटक बङ्गलादेशको नेतृत्व गरेकी जियालाई हसिनाको सरकारले सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल चलान गरेको थियो । हसिनालाई सत्ताबाट हटाइएको केही समयपछि नै उहाँ गत वर्ष रिहा हुनुभएको थियो ।
उहाँका छोरा ५९ वर्षीय तारिक रहमान पनि सन् २००८ देखि बेलायतमा रहँदै आउनुभएको छ । दशकौंदेखि बङ्गलादेशको राजनीति जिया र हसिनाबिचको कटु प्रतिद्वन्द्विताले परिभाषित गर्दै आएको छ, जसलाई ‘ब्याटल अफ द बेगम्स’ भनिन्छ । सन् १९७५ मा हसिनाका पिता, स्वतन्त्रता नेता शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको ‘कू’ मा भएको हत्यापछि यो प्रतिद्वन्द्विता देखिन थालेको हो।