
काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले चिनियाँ सामग्रीमाथि भन्सार दर कम गर्ने घोषणा गर्नुभएको छ । चीनका राष्ट्रपति सी चीनफिङसँग दक्षिण कोरियामा आज भएको भेटवार्तापछि ट्रम्पले चिनियाँ सामग्रीमा भन्सार दर कम गर्ने घोषणा गर्नुभएको हो ।
राष्ट्रपति ट्रम्पले चीनबाट अमेरिकामा आउने दुर्लभ खनिज तत्व र धातुमाथिको चिनियाँ कडाइ खुकुलो गर्ने विषय पनि सल्टिएको दाबी गर्नुभयो । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीनले दुर्लभ खनिज तत्व र धातुको निर्यातमा कडाइ गरेपछि अमेरिका र पश्चिमा देशको अर्थतन्त्रमा नकारात्मक असर परेको थियो ।
ट्रम्पले चीनसँग चाँडै व्यापार सम्झौतामा हस्ताक्षर हुनेसमेत बताउनुभएको छ । एपेक सिईओ सम्मेलनमा भाग लिन गएका बेला दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्ताबारे बेइजिङले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।
अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच ६ वर्षपछि पहिलो पटक प्रत्यक्ष भेट भएको हो । यो भेटले अमेरिका-चीन सम्बन्धमा नयाँ चरणको सुरुवातका रुपमा हेरिएको छ ।