
काठमाडौं । इजरायलले गाजामा फेरि ठूलो हवाई आक्रमण गरेको छ ।
मंगलबार राति गरेको आक्रमणमा १ सय ४ प्यालेस्टिनी मारिनुका साथै २ सय ५० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । इजरायलले गाजा सिटीसँगै बेइत लाहिया, नुसरत र खान युनिसका घर, विद्यालय र आवासीय भवनमा हवाई आक्रमण गरेको हो । ती स्थानस्थित हमासका केन्द्र र लडाकूलाई निशाना बनाउँदै आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ । मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले गाजामा हमासले इजरायली सैनिकमाथि आक्रमण गरेको र मृतक बन्धकको शव फिर्ता गर्ने सम्झौताको उल्लंघन गरेको आरोप लगाउनु भएको छ । अर्कोतर्फ, हमासले ती सबै आरोप अस्वीकार गरेको छ । कुनै पनि आक्रमणसँग आफ्नो सम्बन्ध नभएको र युद्धविरामप्रति प्रतिबद्ध रहेको हमासले दाबी गरेको छ ।
इजरायली सेनाले मंगलबार राति आक्रमण गरे पनि बुधबार भने युद्धविराम सम्झौतालाई निरन्तरता दिने र यसको उल्लंघनको कडा जवाफ दिने जनाएको छ । यसअघि इजरायली रक्षामन्त्री काट्जले हमासले ‘रेडलाइन’ पार गरेको उल्लेख गर्दै त्यसको भारी मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासविरूद्ध सैन्य कारबाहीको आदेश दिनुभएको थियो।
२० दिनअघि इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले सेप्टेम्बर २९ मा नेतान्याहूको उपस्थितिमा २० बुँदे शान्ति योजना प्रस्तुत गर्नुभएको थियो, जसमा हमासले अक्टोबर ९ मा सहमति जनाएको थियो ।