
काठमाडौं । संयुक्त राज्य अमेरिका र जापानबीच व्यापार सम्झौता भएको छ ।
जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सनेइ ताकाइचीबीच महत्वपूर्ण खनिज र दुर्लभ खानीको आपूर्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । यो सम्झौतालाई दुई पक्षीय सम्बन्धको नयाँ स्वर्णयुग भनिएको छ ।
खनिज आयातका लागि जापान चीनमा निर्भर रहने गरेकोमा अमेरिकाले खनिजसम्बन्धी सम्झौता गरेको हो । जापानमा आयात हुने ७० प्रतिशत खनिज चीनबाट भित्रने गरेको जापानको सरकारी तथ्यांक छ । सम्झौताअनुसार अमेरिकाले जापानबाट हुने सबै आयातमा १५ प्रतिशत कर लगाउनेछ ।
ट्रम्पले विगतमा २५ प्रतिशत कर लगाउने चेतावनी दिँदै आए पनि १५ प्रतिशत करमा सहमति भएको हो । जापानले पनि अमेरिकामा ५ सय ५० अर्ब डलर लगानी गर्नेछ भने कार, विमान, कृषि र ऊर्जाजस्ता प्रमुख क्षेत्रसहित थप अमेरिकी सामान किन्ने प्रतिबद्धता जनाएको छ ।
राष्ट्रपति ट्रम्पले मध्य जापानको योकोसुकास्थित अमेरिकी सैन्य बेस पुगेर ६ हजार अमेरिकी सेनालाई सम्बोधन गर्नुभएको थियो । जापानमा ५५ हजार अमेरिकी सेना तैनाथ छन् । जापान भ्रमण सकेर ट्रम्प दक्षिण कोरिया जाने तालिका छ ।