क्यानडामाथि थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

एसिया भ्रमणमा रहेका ट्रम्पले चिनियाँ राष्ट्रपति र कतारका शीर्ष अधिकारीलाई भेट्ने
कार्तिक ९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
क्यानडामाथि थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले क्यानडामाथि थप १० प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । 

ओन्टारियो प्रान्तले प्रसारण गरेको एउटा विज्ञापनमा अमेरिकामाथि गरिएको आलोचनाप्रति रिसाएर ट्रम्पले कर बढाउनु भएको हो । उक्त विज्ञापनमा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको भनाइ उद्धृत गरी अमेरिकाको कर नीतिको आलोचना गरिएको थियो । 

एक दिनअघि उक्त विज्ञापनको वर्ल्ड सिरिज प्रसारण भएको थियो । ट्रम्पले उक्त कदमलाई ‘वैमनस्यपूर्ण कार्य’ भन्दै हालको करमा थप १० प्रतिशत बढाउने चेतावनी दिनुभएको हो । ट्रम्प अहिले एसिया भ्रमणमा हुनुहुन्छ । उहाँ मलेसियामा हुने आसियान सम्मेलनमा सहभागि हुनुहुनेछ । तर त्यहाँ उहाँले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग भेट्ने कुनै योजना नरहेको बताउनुभएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले गाजा शान्ति सम्झौतामा प्रमुख सहयोगि कतारका अमिर र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुहुनेछ । गत जनवरीमा राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेपछि पहिलो पटक एसियाको भ्रमण गर्नुभएको हो । 

राष्ट्रपति ट्रम्पको दुई क्षेत्रीय शिखर सम्मेलनमा सहभागि हुने र चीनका राष्ट्रपति सी चिनफिङ र अन्य एसियाली नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।