
काठमाडौं । थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।
मलेसियाको क्वालालम्पुरमा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको उपस्थितिमा कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाइ प्रधानमन्त्री अनुतिन चार्नविराकुलले विस्तारित युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा हस्ताक्षरसँगै दुवै मुलुकबीचको विवाद समाप्त गर्ने आधार निर्माण गरिएको छ ।
क्वालालम्पुरमा आयोजित दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन-आसियानको शिखर सम्मेलनको साइडलाइनमा दुवै मुलुकले शान्ति युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका हुन् । थाइ प्रधानमन्त्री अनुतिनले सम्झौताले स्थायी शान्तिको आधार सिर्जना गर्ने बताउनुभएको छ भने कम्बोडियाली प्रधानमन्त्री हुनले पनि ऐतिहासिक दिन भनी टिप्पणी गर्नुभएको छ ।
युद्धविराम सम्झौतामा हस्ताक्षरपछि ट्रम्पले दुवै मुलुकसँग छुट्टाछुट्टै आर्थिक सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । नोम पेन्हसँग पारस्परिक व्यापारको सम्झौता र बैंककसँग महत्वपूर्ण खनिजसम्बन्धी सम्झौता समावेश भएको बताइएको छ ।
गत जुलाईमा दुवै मुलुकबीच ५ दिनसम्म युद्ध चलेको थियो । ट्रम्पले उच्च कर लगाउने चेतावनी दिएपछि दुवै युद्धविराम गर्न सहमत भएका थिए ।