
काठमाडौं । पाँच वर्षको अवरोधपछि भारत र चीनबीच सिधा हवाई उडान पुनः सुरू भएको छ ।
यो कदम व्यापार र नागरिकबीचको सम्पर्कका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ । यसले एसियाका दुई शक्तिशाली राष्ट्रबीच सम्बन्ध पुनर्स्थापनाको प्रतिकात्मक सुरुवात गरेको छ । इन्डिगो एयरले आइतबार कोलकाताबाट ग्वाङ्झाउका लागि पहिलो उडान गरेको हो । राजधानी नयाँ दिल्लीबाट साङ्घाई र ग्वाङ्झाउतर्फका थप सेवाहरू नोभेम्बरदेखि सुरू हुने तयारीमा छन् ।
विश्वका सबैभन्दा धेरै जनसङ्ख्या भएका छिमेकी यी दुई देशबीच लामो समयदेखि रणनीतिक प्रतिस्पर्धा रहँदै आएको छ । सन् २०२० मा हिमाली सीमा क्षेत्रमा भएका तनावपूर्ण सम्बन्धमा आएको तिक्तता विस्तारै घट्दै गएको छ ।
उडान पुनः सुरू हुनु ‘नागरिकबीचको सम्पर्क सुदृढ गर्न’ र ‘द्विपक्षीय आदानप्रदानलाई सामान्यीकरणतर्फ लैजान’ सहयोगी हुने भारतले जनाएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पद्वारा ५० प्रतिशत करको सजाय लगाइएपछि वासिङ्टनसँगको व्यापारिक सम्बन्धमा तनाव झेलिरहेको भारतको बेइजिङसँगको सम्बन्ध पछिल्ला महिनाहरूमा न्यानो भएको देखिएको छ ।
ट्रम्पका सहयोगीहरूले भारतले मस्कोबाट तेल खरिद गरेर रूसको युक्रेन युद्धलाई परोक्ष रूपमा समर्थन गरेको आरोप लगाएका थिए । भारतको सबैभन्दा ठूलो विमान सेवा प्रदायक इन्डिगो एयरलाइन्सले चीनका लागि पहिलो दैनिक सिधा उडान सञ्चालन गरेको छ ।