भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषण उच्च भएपछि पहिलो पटक कृत्रिम वर्षाको तयारी

आगामी बुधबार गरिने कृत्रिम वर्षाका लागि परीक्षण पूरा
कार्तिक ८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषण उच्च भएपछि पहिलो पटक कृत्रिम वर्षाको तयारी

काठमाडौं । भारतले राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ अर्थात कृत्रिम वर्षा गराइने भएको छ । 

त्यसका लागि परीक्षण पुरा भएको दिल्ली प्रशासनले जनाएको छ । कृत्रिम वर्षाले वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने बताइएको छ । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले यदी मौसम अनुकूल रह्यो भने, दिल्लीले अक्टोबर २९ अर्थात् आगामी बुधबार पहिलो कृत्रिम वर्षा अनुभव गर्ने बताउनुभयो । 

यो परियोजना दिल्लीवासीका लागि ‘स्वच्छ हावा फिर्ता ल्याउने महत्त्वपूर्ण कदम’ भएको उहाँले बताउनुभयो । क्लाउड सिडिङ भन्नाले वर्षा उत्प्रेरित गर्न विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा फायर गर्ने प्रक्रिया हो । 

यसरी कृत्रिम रूपमा वर्षा गराइ वायुमण्डलीय प्रदूषणलाई कम गर्ने उद्देश्यले यो प्रविधि विश्वका केही मुलुकले पहिले नै प्रयोग गर्दै आएका छन् । नयाँ दिल्लीका अधिकारीहरूले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) कानपुरसँगको सहकार्यमा सहरको उत्तरी क्षेत्र बुराडीमा सेस्ना हल्का विमान प्रयोग गरी परीक्षण पुरा गरेका हुन् ।

दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले विज्ञप्ति जारी गर्दै क्लाउड सिडिङको परीक्षण उडान सम्पन्न गरिएको जानकारी दिनुभएको छ । प्रत्येक जाडोमा दिल्ली सहर बाक्लो धुवाँले ढाकिन्छ । चिसो हावाले प्रदूषक तत्वहरूलाई जमिनको नजिक थुनेर बाली जलाउने, उद्योग धुवाँ र ट्राफिकको उत्सर्जन मिसिएर घातक प्रदूषणको मिश्रण बनाउँछ ।

सेप्टेम्बरमा गरिएको एक अध्ययनले दिल्लीको ऐतिहासिक लालकिल्ला समेत प्रदूषणका कारण कालो हुँदै गएको निष्कर्ष निकालेको थियो । भारतीय र इटालियन वैज्ञानिकहरूको संयुक्त टोलीले हेरिटेज जर्नलमा प्रकाशित अध्ययनमा युनेस्को विश्व सम्पदा स्थल लालकिल्ला निरन्तर कालो क्रस्टले ढाकिँदै क्षय हुँदै गएको चेतावनी दिएको छ ।