
काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प एसियाली मुलुकहरूको कूटनीतिक भ्रमणका क्रममा जापान पुग्नुभएको छ ।
ट्रम्प मलेसियाबाट ६ घण्टाको उडानपछि स्थानीय समयअनुसार सोमबार साँझ टोकियो पुग्नुभएको हो । उहाँलाई इम्पेरियल प्यालेसमा सम्राट नारूहितोले स्वागत गर्नुभएको थियो । ट्रम्पले भोलि बिहान जापानी प्रधानमन्त्री सनेइ ताकाइचीसँग पनि भेटवार्ता गर्ने तालिका छ।
त्यसक्रममा भन्सार महसुल, क्षेत्रीय सुरक्षा, अमेरिकामा जापानी लगानी तथा दुई पक्षीय व्यापारलगायतका विषयमा वार्ता हुने सम्भावना रहेको सीएनएनले जनाएको छ । जापानले अमेरिकामा ५ सय ५० अर्ब डलर लगानी प्रतिबद्धता जनाएको विषयमा पनि छलफल हुने जनाइएको छ ।
गत जुलाईमा भएको सहमति कार्यान्वयनका लागि अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिक र जापानी समकक्षी रयोसोई अकाजावाले सोमबार छलफल गरेका थिए । यसैगरी जापानी प्रधानमन्त्री ताकाइचीले पनि अमेरिकाबाट पिकअप ट्रक, भटमास र ग्यास खरिद गर्ने तथा जहाज निर्माणसम्बन्धी सम्झौता गर्ने प्रतिबद्धता जनाइसक्नुभएको छ ।
ट्रम्प जापानपछि दक्षिण कोरिया पुग्नुहुनेछ, जहाँ उहाँ एसिया प्रशान्त आर्थिक सहयोग-एपेकको शिखर सम्मेलनमा सहभागि हुनुहुनेछ । दक्षिण कोरियामा उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।यसैबीच, राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनसँग भेट्न आफ्नो एसिया भ्रमण लम्ब्याउन तयार रहेको बताउनुभएको छ । तर, दुवै नेताबीच वार्ताको कुनै कार्यक्रम भने तय गरिएको छैन ।